
एजेन्सी । प्यालेस्टाईनको रकेट आक्रमणमा परि कम्तीमा २२ इजरायली मारिएका छन् ।
आक्रमणमा कम्तीमा ५४५ जना घाइते भएको इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा परि घाईते भएका सयौंको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । शनिबार बिहान हमासले इजरायलका राज्य र त्यहाँका नागरिकहरूविरुद्ध घातक आक्रमण गरेको हो ।
चरमपन्थी संगठन हमासले इजरायलमा सात हजारभन्दा बढी रकेट प्रहार गरेको दाबी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणलाई युद्धको संज्ञा दिँदै शत्रुहरूले यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ ।
इजरायली नागरिकहरूलाई सम्बोधन गर्दै नेतान्याहुले यो आक्रमण कुनै अभियान वा उक्साहट नभई युद्ध भएको बताउनुभयो । साथै उहाँले सुरक्षा निकायका प्रमुखहरूलाई सबैभन्दा पहिले घुसपैठ गर्ने आतंककारीहरूलाई सिध्याउन निर्देशन समेत दिएको जानकारी दिनुभयो । यता प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले आफ्ना जनतालाई आफ्नो रक्षा गर्ने अधिकार रहेको प्रतिक्रिया दिनुभएको छ ।
यसैबीच, गाजापट्टीबाट व्यापक मात्रामा रकेट हमला भएपछि इजरायली सेनाले पनि जवाफी हमला सुरु गरेको छ । आफ्नो इलाकामा रकेट आक्रमण भएको र हमास विद्रोहीको घुसपैठ पनि भएकाले जवाफी कारबाही थालेको इजरायली सेनाले जनाएको छ । इजराइली प्रतिरक्षा फौज आईडीएफले दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दालाई सुरक्षित अवस्थामा रहन निर्देशन पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस्