
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले व्यवस्थित सुधार गृह बनाउनुपर्ने बताउनुभएको छ ।
आईतबार सिंहदरबारमा बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री आचार्यले यस्तो बताउनुभएको हो ।
उहाँले बाल सुधार गृहमा दिनप्रतिदिन संख्या बढ्दै जाने अवस्था रहेको भन्द व्यवस्थित सुधार गृह बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले अनुगमनका क्रममा आफूले सुधार गृहमा कोचिएर बालबालिकाहरु राखेको देखेको भन्दै उनीहरुलाई बस्न समेत गाह्रो रहेको बताउनुभयो । उहाँले सुधार गृह अत्यन्त कम क्षमताका भएकाले सुधार गृह बढाउन आवश्यक रहेको बताउनुभयो ।
मन्त्री आचार्यले बाँकेको नौबस्तामा दुई सय क्षमताको सुधार गृहको रुपमा कारागारकै भवनलाई व्यवस्था गरिएको पनि बताउनु भयो । उहाँले मन्त्रालयको बजेट १ अर्ब २४ करोड बजेट रहेको भन्दै बजेट अभावले सोचेअनुरुपको काम गर्न नसकिने बताउनुभयो ।
मन्त्री आचार्यले देशमा आधुनिक र व्यवस्थित खालको वृद्धाश्रम आवश्यक रहेको बताउनुभयो । उहाँले सातै प्रदेशमा एउटा वृद्धाश्रम अपरिहार्य भइसकेको बताउनुभयो । उहाँले गोठाटारको वृद्धको लागि हस्पिटल र वृद्धाश्रम बनाउने भनिएपनि अहिलेसम्म त्यहाँको जग्गामा नै विवाद रहेको बताउनुभयो । उहाँले गोठाटारमा अब सके सोही जग्गा मिलाउने र नभए त्यसको विकल्पको रुपमा नजिकै जग्गा किनेर भएपनि वृद्धाश्रम बनाउने बताउनुभयो ।
मन्त्री आचार्यले परिवारबाट हेला भएका वृद्धवृद्धालाई राज्य अभिभावक भएर हेर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्