
गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ
काठमाडौं । इजरायल र प्यालेस्टाइनबीचको दशकौंदेखिको द्वन्द फेरि एक पटक सतहमा आएको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले एकाएक इजरायलमाथि आक्रमण गरेपछि दुई देश फेरि युद्धमा होमिएका छन् । यस पटक भने युद्धको प्रत्यक्ष पीडा भोग्नेमा नेपालीहरु पनि परेका छन् ।
इजरायल र पेलेस्टाइबीचको युद्ध चर्किदै जाँदा इजरायलमा रहेका नेपालीहरुको अवस्थाको चिन्ता पनि बढिरहेको छ । शनिबार बिहानदेखि हमासले इजरायलमा आक्रमणपछि गरेपछि नेपाल सरकार र इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरुबारे सकेसम्म जानकारी दिने कोशिस गरिरहेका छन् ।
परराष्ट्र मन्त्रालयको तथ्यांक अनुसार इजरायलमा केयर गिभर कामदारको रुपमा ४ हजार ५ सय र २ सय ६५ जना विद्यार्थी रहेका छन् । जसमा कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी अध्ययनका लागि इजरायलमा रहेका छन् ।
ती मध्ये सददूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि गएका मध्ये १७ विद्यार्थी इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिममा रहेको खुलेको छ । जुन प्यालेस्टिनी भूमि गाजाबाट नजिकै रहेको छ । हमासका लडाकुहरु सिमाबार भत्काएर प्रवेश गरेका थिए भने यस क्षेत्रबाट सयौं सर्वसाधारण अपहरणमा परहेको अनुमान गरिएको छ ।
अध्ययनका सिलसिलामा होस वा रोजगारीका लागि नेपालीहरु विश्वका अधिकांश देशमा पुग्ने गरेका छन् । विश्वको जुनसुकै भुगोमा हुने द्वन्दको बाछिटा नेपालीहरुले प्रत्यक्ष व्यहोर्नुपर्ने अवस्था बनेको छ । तत्काल उद्धार गर्नुपर्ने पूर्वराजदुत जयराज आचार्य बताउनुहुन्छ ।
इजरायल–प्यालेस्टाइन युद्धको कुरा गर्दा नेपालले चाहेर पनि कुनै कदम चाल्न सक्ने अवस्था भने छैन । तर आफ्ना नागरिकहरुको अवस्थाको निक्र्यौल गर्नु र उनीहरुलाई सकेसम्म छिटो युद्ध क्षेत्रबाट उद्धार गर्नु सरकारको दायित्व भएको पूर्वराजदुत जयराज आचार्य बताउनुभयो ।
युक्रेन र रुसबीचको युद्ध दोस्रो वर्षमा चलिरहँदा यता इजरायल र पेलेस्टाइनबीच सुरु भएको युद्ध विश्वका लागि थप चिन्ताको विषय बनेको छ । इजरायल–प्यालेस्टाइन युद्ध कति लम्बिन्छ वा यसले कस्तो रुप लिन्छ भन्न सकिने अवस्था छैन । त्यसैले हालका लागि ती देशहरुमा रहेका नेपालीहरुलाई सुरक्षित स्थाना पुर्याउनु नै अहिलेको आवश्यकता हो ।
प्रतिक्रिया दिनुहोस्