१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दशैंको लागि अग्रिम टिकट खुला, सुरक्षाका लागि पहिलो पटक ड्रोन प्रयोग गर्दै प्रहरी


1.313k
Shares

काठमाडौं । दशैंमा घर जाने यात्रुका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ सुरू भएको छ ।

सोमबार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ सुरू भएको हो । काठमाडौंसहित देशका विभिन्न ठाउँमा लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । तर, यात्रुहरुले भने गत वर्षको तुलनामा अलि व्यवस्थित भएपनि अनलाइन टिकटमा सरकारको कमजोरी देखिएको गुनासो गरेका छन् ।

त्यस्तै, कालिकोटसम्म जानुपर्ने यात्रुलाई जुम्लासम्मको टिकट काट्न बाध्य बनाइएको उनीहरुले गुनासो छ । उनीहरुले सम्बन्धित जिल्लाका सांसदहरुले यस विषयमा आवश्यक ध्यान दिन जरुरी रहेको बताए । उनीहरुले जिल्लावाइज टिकट काउण्टर राख्न सुझाव दिएका छन् ।

त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्रबहादुर खत्रीले यात्रुहरुको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको बताउनुभयो । उहाँले काठमाडौं जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको बताउनुभयो । उहाँले विभिन्न टेक्नोलोजीको सहायतामा आम नागरिकलाई सुरक्षित हिसावले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित तयार रहेको बताउनुभयो । उहाँले यस पटक सुरक्षाका लगि भीडभाड स्थानमा ड्रोनबाट निगरानी गरिने बताउनुभयो ।

त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बिहान ६ बजेदेखि नै यात्रुहरु लाइनमा बसेर अग्रिम टिकट काट्न आएको बताउनु भयो । उहाँले बाटोको कारणले सुरक्षित ढंगबाट यात्रुहरु गन्तव्य स्थल लैजान असहज रहको भन्दै सरकारले सडक स्तरोन्नति गर्नुपर्ने बताउनुभयो । उहाँले सडक नबनाए समयमा सवारीसाधन नआइपुग्ने र अग्रिम टिकट बुकिङ खुलाएको औचित्य नहुने बताउनुभयो ।

चहरेक वर्ष दशैँ, तिहार र छठ जस्ता पर्वलाई लक्षित गरी लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ । विशेष गरी संघीय राजधानी काठमाडौंबाट आ–आफ्नो घर फर्किने यात्रुले अग्रिम टिकट लिने गर्दछन् ।

दशैँ तिहार मनाउन यस पटक करिव १६ लाख मानिसहरुले काठमाडौं छोड्ने अनुमान छ ।