
काठमाडौं । कोशी प्रदेशको राजनीतिक फेरि रोचक मोडमा आइपुगेको छ ।
प्रदेशको मुख्यमन्त्रीका लागि सत्तारुढ गठबन्धनबाटै दोहोरो दाबी परेपछि कोशीको राजनीति रोचक मोडमा पुगेको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीको दाबी पेश गर्न शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिनुभएकोमा नेपाली कांग्रेसका केदार कार्की र माओवादीका इन्द्र आङ्बोले आजै दाबी पेश गर्नुभएको हो ।
कांग्रेसका कार्कीलाई आफ्नो पार्टीका अरु सात जना सांसदले समर्थन गरेका छन् भने एमालेका ३९ जना सांसदले पनि कार्कीलाई समर्थन गरेका छन् । नेपाली कांग्रेसले संस्थागत रुपमा कोशीको मुख्यमन्त्री माओवादीलाई दिने निर्णय गरेकोमा प्रदेशमा त्यसको अवज्ञा गर्दै डा. शेखर कोइराला पक्षका केदार कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।
कार्कीलाई कांग्रेसबाट उदयपुरका रामकुमार खत्री तथा लीलाकुमारी राई, इलामका शमशेर राइ र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बु र सुनसरीकी सुनीता गुरुङले समर्थन गरेका छन् । कार्कीले पेश गरेको दाबीमा ४७ जना सांसदको समर्थन रहेको छ ।
जुन मुख्यमन्त्री बन्नका लागि न्युनतम सांसद संख्या हो । यस्तै, माओवादीका इन्द्र आङ्बोले पनि ४७ जना सांसदकै समर्थन देखाउँदै मूख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ । तर आङ्बोले आफ्नो समर्थनमा देखाएका कांग्रेसका आठ जना सांसदको पुरानो हस्ताक्षर प्रयोग गरिएको कार्की पक्षले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसद भने तटस्थ बसेका छन् । राप्रपाले कोशीबारे निर्णय गर्न भोलि विहान केन्द्रीय समितिको वैठक डाकेको छ । ९३ सदस्यीय प्रदेश सभामा एमालेका उपसभामुख सहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्