११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सांसदहरुद्वारा अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गर्नुपर्नेमा जोड


104
Shares

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रश्तावमाथि छलफल गर्दै सांसदहरुले अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले अपांगता भएका व्यक्तिहरुले संविधानप्रदत्त अधिकार समेत नपाएको भन्दै उनीहरुले पाउनुपर्ने सबै अधिकारहरुको सुनिश्चित गर्न माग गरेका छन् ।

बैठकमा बोल्दै सांसद शारदादेवी भट्टले अपांगता भएका व्यक्तिहरुलाई छुट्टै बजेट छुट्टयाउनुपर्ने बताउनुभएको छ । उहाँले उनीहरुले पाएका सेवा, सुविधाहरुको कटौती गर्नु नहुने बताउनु भयो ।

त्यसैगरी सांसद सिंगबहादुर विश्वकर्माले अपांगता भएका व्यक्तिहरुको लालनपालन पोषणको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताउनु भयो । उहाँले उनीहरुलाई अधिकार सम्पन्न बनाउन राज्य दिनप्रतिदिन चुक्दै गइरहेकाले राज्यप्रति निराश भइरहेका बताउनु भयो ।

सांसद तुलप्रसाद विश्वकर्माले अपांगता भएका व्यक्तिहरुको हक, हितका लागि बनेका कानूनहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

त्यसैगरी सांसद भगवती न्यौपानेले अपांगता भएका व्यक्तिहरुलाई सिपमुलक तालिम र व्यवसायिक तालिमहरु दिनुपर्ने बताउनु भयो । उहाँले उनीहरुलाई सिप सिकाएर आय, आर्जन गर्नसक्ने बनाउनुपर्ने बताउनु भयो ।

सांसद खिमलाल देवकोटाले संघीयताको सवलीकरण भएमा मात्र अपांगता भएका लगायतका समाजका सबै वर्ग र समुदायको अधिकार सुनिश्चित हुने भएकाले संघीयताको सवलिकरण गर्नुपर्ने बताउनु भयो ।

यस्तै सांसद रमेशजंग रायमाझीले सरकारले कानून र सन्धि, सम्झौताहरुलाई कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । सरकारले कानून कार्यान्वयनको अवस्था कस्तो छ भनि हेर्नुपर्ने पनि उहाँले बताउनु भयो ।

सांसद वामदेव गौतमले अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गर्न सरकारले कानून, नियमावलीमा संशोधन गरेर सबै विषय समावेश गर्नुपर्ने बताउनु भयो । उहाँले आवश्यक परेमा संविधान संशोधन गर्न पनि तयार हुनुपर्ने बताउनु भयो ।

त्यसैगरी सांसद विमला राई पौड्यालले सबै खालका संरचनाहरु अपांगतामैत्री बनाउनुपर्ने बताउनु भयो । अपांगता भएका व्यक्तिहरु घरमा बस्ने वातावरण नभए ‘केयर होम’ पनि आवश्यक भएको बताउनु भयो । त्यसैगरी अपांगता भएका व्यक्तिहरुलाई नीति निर्माण र निर्णय प्रक्रियामा सहभागि गराउनुपर्ने बताउनु भयो ।

उहाँले अपांगता भएका व्यक्तिहरुलाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने बताउनु भयो ।