
काठमाडौं । नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्कीलाई मुख्यमन्त्रीको दाबी फिर्ता लिन निर्देशन दिएको छ ।
केन्द्रीय गठबन्धनले गरेको निर्णय कार्यान्वयनका लागि प्रदेश कमिटीले निर्देशन दिएको प्रदेश महामन्त्री उमेश थापाले बताउनुभएको छ । मुख्यमन्त्रीमा केदार कार्कीलाई समर्थन गरेका ७ जना सांसदलाई हस्ताक्षर फिर्ता लिन समेत निर्देशन दिइएको थापाले बताउनुभयो ।
कांग्रेसको कोशी प्रदेश कार्यसम्पादन समितिमा ३१ जना सदस्य रहेकोमा १४ जनाको मात्रै वैठक बसेर निर्देशन दिइएको हो । बैठकमा उपस्थित भएका केही सदस्यहरु भने निर्णय प्रक्रियामा सहभागी नभएको बुझिएको छ । सत्ता गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेलगत्तै डा शेखर कोइराला पक्षका कार्कीले एमालेको समर्थन र कांग्रेसका सात सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी पेस गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्