१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालसँग हङकङ ७९ रनले पराजित


2.34k
Shares

काठमाडौं । नेपाल त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार सिरिजको तेस्रो खेलमा हङकङलाई हराउँदै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले हङकङलाई ७९ रनले हरायो । नेपालले ३ खेलबाट ६ अंक जोड्दै फाइनलमा स्थान सुरक्षित गर्यो । लिग चरणको अन्तिम खेलमा नेपालले यूएईसँग खेल्नेछ । नेपालले प्रश्तुत गरेको २ सय १४ रनका लक्ष्य पछ्याएको हङकङले ८ विकेट गुमाएर १ सय ३४ रनमात्र बनाउन सक्यो ।

नेपालका करण केसी, सोमपाल कामी, ललित राजवंशीले समान २ तथा प्रतिश जिसी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट हात पारे । हङकङका अंसी रथले सर्वाधिक ४५ रन बनाए । बाबर हायातले २० तथा अजिज खानले २५ रन बनाए ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले ९२ रनको योगदान गरे । उनले ४१ बलमा ३ चौका र ९ छक्काको मदतले ९२ रन बनाए ।

दिपेन्द्र सिंह ऐरीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । ओपनर कुशल भुर्तेललाई २ र आसिफ शेखलाई २० रनमा गुमाएको नेपालका लागि सोमपाल कामीले ८ र रोहित पौडेलले ११ रन बनाएका थिए । सन्दीप जोरा र गुल्सन झा समान १ रनमा नटआउट रहे । खेल जितेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान रोहितकुरमा पौडेलले दीपेन्द्र र कुशलको पार्टनरसिप खेल जित्नका लागि राम्रो भएको बताए । उनले बलिङ यो टुर्नामेण्टमा एकदमै राम्रो भइरहेको बताए । कप्तान पौडेलले अब फाइनल अझै राम्रोसँग खेल्ने बताए ।