
काठमाडौं । हिन्दू धर्मावलम्वीहरुको प्रमुख चाड बडा दशैंमा विभिन्न शक्तिपीठहरुको धुमधामले पूजा गरिन्छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको बिहानैदेखि भिड लागने गर्छ । दशैं अवधिभरि नै मनोइच्छा पूरा हुने आस्थाका साथ विभिन्न देवीदेवताको पूजाआरधना गर्ने गरिन्छ ।
हिन्दूधर्मसँग सयौं पर्व र संस्कृतिहरु जोडिएर आउँछन् । सबैको आआफ्नै महत्व र विशेषता छन् । यसैमध्ये एक हो दशैं । हिन्दू धर्मावलम्वीहरुको सबैभन्दा ठूलो चाड हो यो । दशैं अवधिभर नै काठमाडौं उपत्यकासहित देशका विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ ।
काठामाडांै उपत्यकाको सबैभन्दा प्रसिद्ध शक्तिपिठ हो बागमती नदीको दक्षिणी किनारामा अवस्थित गुह्येश्वरी । सतीदेवीको गुह्य पतन भएको विश्वास रहेको यस शक्तिपिठमा देवीहरूको कुनै मूर्ति छैन भने सतीदेवीको गुह्य पतन भएको स्थानमा मन्दिरको गर्भगृह रहेको छ । यस्तै, अर्को प्रसिद्ध शक्तिपिठ हो काठमाडौंको हनुमानढोका अवस्थित तलेजु भवानी । वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि यो मन्दिर खुला गरिन्छ ।
यस्तै, काठमाडौं उपत्यकाका प्रसिद्ध शक्तिपीठमध्येको एक हो, नक्साल भगवती । यस मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ । भगवती दुर्गाकै रूपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनहरूको ठूलो आस्था रहेको पाइन्छ । काठमाडौं उपत्यकाका मुख्य शक्तिपिठहरुमध्य मैतीदेवी मन्दिर पनि एक हो । डिल्लीबजार र ज्ञानेश्वरका बीचमा अवस्थित यो मन्दिरको स्थापना अंशुवर्माको शासनकालमा भएको मानिन्छ । मैतीदेवी मन्दिरमा वज्राचार्य समुदायले पूजा गर्दै आएको मैतीदेवि मनदीरमा दशैंको नवरात्रिमा पशु बली दिइँदै आएको छ ।
यस्तै, काठमाडौंको भद्रकाली पनि उपत्यकाको चर्चित शक्तिपिठहरु मध्य एक हो । भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हो । नवदुर्गा र दश महाविद्या पीठमध्येकी एक देवी हुन्, भद्रकाली । मन्दिर काठमाडौंको सिंहदरबारदेखि ५ सय मिटर पश्चिममा रहेको छ । भद्रकालीको स्थापना परापूर्वकालका राजा गुणकामदेवले कलिको संवत ३८२५ मा गराएको मानिन्छ । तान्त्रिक पद्धतिअनुसार नवरात्रमा विशेष पूजा गरिने भद्रकालीको मन्दिर सामान्य स्वरूपको छ । चामुण्डा देवीको रुपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त रहेको छ ।
काठमाडौं उपत्यकाको अर्को मुख्य मन्दिर हो, महांकाल । करिब १२ सय वर्षअघि स्थापना भएको मानिने यो मन्दिरमा दशैंमा मात्र नभई हरेक शनिवार र चाडपर्वमा उत्तिकै भीड लाग्ने गर्छ । तत्कालिन समयदेखि नै यस मन्दिरमा तान्त्रिक विधिबाट पूजा गर्न थालिएको मान्यता छ । शक्तिस्वरुपिणी कालीहरुमध्ये सबैभन्दा शान्त स्वभावकी स्वेतकाली भगवतीलाई नरदेवी भनिन्छ ।
स्वेतकालीको आराधना गर्नाले सुख, समृद्धि र मनोकामना पूरा हुन्छ भन्ने विश्वास रहँदै आएको छ । विष्णुमती नदीको पूर्वी किनारमा रहेको शक्तिपीठ ईन्द्रायणस्लाई स्थानीय भाषामा लुती अजिमा नामले पुकार्ने चलन रहेको छ । दशैं सुरु भएदेखि पूर्णीमाको दिनसम्मनै यस शक्तिपिठमा भक्तजनहरु भीड लाग्ने गर्छ ।
यस्तै, काठमाडौंको पश्चिममा विष्णुमति नदीको किनारमा रहेको पवित्र शक्तिपिठ हो, शोभा भगवती । प्यागोडा शैलीमा रहेको यो मन्दिरमा श्रद्धालु भक्तजनहरूको प्रशस्त घुइँचो लाग्ने गर्दछ । तान्त्रिक वास्तुशास्त्रका आधारमा बनाइएको शोभा भगवती मन्दिरमा साढे दुई फिट उचाइको मूर्ति रहेको छ । तन्त्रशास्त्रमा यो मन्दिरलाई ‘वगला’ भन्ने गरेको पाइन्छ । दुःख, दरिद्र, युद्धमा विजय, शत्रुको संहार, कामकाजमा सफलता, पदोन्नति तथा साहसिक कार्यका लागि शोभा भगवतीको आराधना गर्नुपर्ने जनविश्वास पनि रहँदै आएको छ ।
बर्सेनि विजयादशमी, नवरात्रिको अवसरमा द्वितीयापूर्वका दिन निर्मल तीर्थ भचाखुसीमा नवरात्रि मेला लाग्दछ । यस्तै, बर्सेनि मंसिर कृष्णपक्षको चतुर्दशी ‘बालाचतुर्दशी’को दिन छवटा देवदेवीका जात्रामा शोभा भगवतीको मूर्ति पनि रथमा राखी विधिपूर्वक जागा गरी नगर परिक्रमा गराईन्छ ।
करिब १७ सय वर्षअघि अर्थात् सम्वत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती पनि एक प्रसिद्ध शक्तिपिठ हो । पलान्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदी बहिनीमध्ये पलान्चोक भगवती ठूली दिदी हुन् भन्ने लिच्छविकालीन किंवदन्तीमा उल्लेख भएको पाइन्छ । यो मन्दिरमा विशेष गरी दशैं, माघे–सङ्क्रान्ती र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो हुने गर्दछ । काठमाडौं उपत्यकाका यी शक्तिपीठहरुका साथै उपत्यकाबाहिरका शक्तिपीठहरुमा पनि भक्तजनहरुको उत्तिकै भीड लाग्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्