
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियम सिनेटकी सभामुख स्टेफिन डि होर्सबीच भेटवार्ता भएको छ ।
अन्तरव्यवस्थापिका संघ (आइपियु) को १४७ औं महासभाका क्रममा एङ्गोलाको राजधानी लुवाण्डामा बिहीबार दुवै जनाबीच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेल्जियमबीचको आपसी सम्बन्ध सद्भाव, विश्वास र पारस्परिक सम्मानले सम्बन्ध प्रगाढ रहेको बताउनुभयो । दुवै मुलुकले अन्तर्राट्रिय मञ्चहरुमा साझा धारणा राख्दै आएको उहाँले स्मरण गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा एकअर्का देशलाई समर्थन गर्दैआएको कुरामा जोड दिँदै बेल्जियमले नेपालको बिकास प्रयासमा विभिन्न दातृ निकायमार्फत गरेको योगदानका लागि धन्यबाद व्यक्त गर्नुभयो । नेपाल र बेल्जियमबीचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसदको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । अध्यक्ष तिमिल्सिनाले संसदीय अनुभवको आपसी आदनप्रदानमार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफ्ना नागरिकको हक अधिकार सुनिश्चित गर्ने प्रक्रियालाई सवल बनाउने अवसर रहेको उल्लेख गर्नुभयो ।
भेटवार्ताका क्रममा बेल्जियमकी सभामुख होर्सले नेपाल र बेल्जियमका बीचमा धेरै समनताहरु रहेको बताउँदै जलवायु परिर्वतनको असर कम गर्न र मानवअधिकारको प्रबर्धनमा सहकार्य गर्न सकिने बताउनुभयो । कोभिडको समयमा नेपालमा सहयोग गरेको स्मरण गर्दै उहाँले जलबायु परिर्वतनबाट हुने प्राकृतिक बिपत्तिका घटना कम गर्न आगामी दिनमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्