२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन सानेपामा चियापान कार्यक्रम गर्दै


533
Shares

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन शनिबार चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

कांग्रेस पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विजयादशमी, तिहार, नेपाल सम्वत, छठ लगायत पर्वहरुको अवसरमा शनिबार दिउँसो १ देखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सुरक्षा निकायका प्रमुखहरू, कुटनीतिक नियोगका प्रमुखहरू, पत्रकार, कलाकार, उद्योगपतिलगायतलाई निमन्त्रणा गरिएको छ ।

२०३३ सालमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ । चियापान कार्यक्रमलाई बिपीको निधनपछि त्यसपछिका पार्टी सभापतिहरुले निरन्तरता दिँदै आउनु भएको छ ।

यसैबीच, नेकपा एमालेले दशैं, तिहार, छठलगायत पर्वहरूको अवसरमा तय गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको मिति एकदिन पछि सारेको छ । यसअघि कात्तिक १४ गते गर्ने भनिएको चियापान कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै कात्तिक १५ गते आयोजना गर्ने निर्णय भएको एमालेले जनाएको छ ।

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने छ । कार्यक्रमका लागि राजनीतिक दलका नेता, कुटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको एमालेले जनाएको छ ।