
काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
डोटीको शिखर नगरपालिका– ६ अण्यौलमा बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको जिप आइतवार राति २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । बाजुराको हिमाली गाउँपालिका–५ की २२ वर्षीया राधिका मलाल, ८ महिनाकी प्रार्थना मलाल, ३२ वर्षीया धनशोभा बुढा र उनका ६ वर्षीय छोरा कविन्द्र बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घाइते हुनेमा हिमाली गाउँपालिका– ५ का ३० वर्षीय प्रकाश बुढा थापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीया विमला मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेको प्रहरीले जनाइएको छ ।
उनीहरूमध्ये विमलाको अवस्था गम्भीर रहेको छ । उनीहरु सबैको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ ।
जिपका चालक बाजुरा गौमुल गाउँपालिका–४ काँडाकोटका महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिप एक्कासी अनियन्त्रित भएर सडकबाट करीब ६० मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्