
काठमाडौं । नेपालमा करिब ९० प्रतिशत मानसिक रोगीहरुले मानसिक स्वास्थ्योपचारबाट वञ्चित भएको मनोचिकित्सकहरुले बताएका छन् ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको १४ औं सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलनमा सार्क राष्ट्रका मनोचिकित्सकहरुले यस्तो तथ्यांक रहेको बताएका हुन् । उनीहरुले सार्क राष्ट्रमा मानसिक स्वास्थ्यको उपचारबाट वञ्चित हुनेहरु करिब ८४ प्रतिशत रहेको बताए । उनीहरुले आत्महत्याको तथ्यांक हेर्दा एशियामा जनसंख्याको हिसावले सबैभन्दा धेरै भारतमा हुने गरेको बताएका छन् ।
मनोचिकित्सक डा. कमल गौतमले विश्वव्यापी रुपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरु ८४ प्रतिशत रहेको बताउनुभयो । उहाँले नेपालमा करिब ९० प्रतिशत मानसिक रोगीहरु उपचारबाट वञ्चित रहेको बताउनुभयो ।
सम्मेलनमा बोल्दै मनोचिकित्सक डा. सरोज ओझाले कडा खालको मानसिक रोगको उपचार राज्यले गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा मानसिक स्वास्थ्य ऐन छुट्टै बनाउनुपर्नेमा अहिलेसम्म बन्न नसकेको बताउनुभयो । उहाँले आत्महत्या रोकथामको लागि राज्यले जनमानसमा जनचेतना फैल्याउने र पीडितले अचानक सेवा चाहिए कहाँबाट सेवा लिने भन्नेका लागि हटलाइन सर्वसुलभ गर्ने र दक्ष जनशक्तिबाट आवश्यक परामर्श दिन आवश्यक रहेको बताउनुभयो ।
सम्मेलन मंगलवार र बुधबार गरी दुई दिनसम्म चल्ने छ । सम्मेलनमा सार्क राष्ट्रमा मानसिक समस्याहरुबाट व्यहोर्नुपरेको क्षति, उपचारका उपायका बारेमा छलफल हुने छ ।
प्रतिक्रिया दिनुहोस्