
काठमाडौं । आरती साहको न्यायकोलागि पीडित परिवारले गरिरहेको धर्नामा प्रभु साह नेतृत्वको आम जनता पार्टीले ऐक्यवद्धता जनाएको छ ।
गत जेठ ७ गते धनुषास्थित थापाचोक–९ जनकपुरधाममा आरती साहलाई सासु, ससुरा, श्रीमान र देवर मिलि दाइजोको निउमा निर्घात कुटपिट गरेर हत्या गरेको भन्दै पीडित परिवारले माइतिघर मण्डलामा असार १ गतेदेखि २४सैँ घण्टा धर्ना बस्दै आएका छन् ।
बुधबार आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायत पार्टीका नेता, कार्यकर्ताहरु धर्नास्थलमै पुगेर धर्नामा ऐक्यवद्धता जनाएका हुन् । सो क्रमममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष साहले पीडित परिवारले १४६ दिनसम्म धर्ना बस्दापनि न्याय नपाउनु दुर्भाग्य भएको बताउनुभयो । उहाँले राज्यले पीडित परिवारको माग सम्बोधन गर्न वेवास्ता गरेको भन्दै खेद प्रकट गर्नुभयो । अध्यक्ष साहले पीडित परिवारको माग सम्बोधन गरेर आरती साहलाई न्याय दिन सरकारसँग माग गर्नुभयो । उहाँले समस्या समाधानका लागि सरकारले औपचारिक वार्ता छिटो सुरु गर्नुपर्ने बताउनुभयो ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मृतक आरती साहकी कान्छि बहिनी मनिषा साहले आफुहरु १४६ दिनसम्म न्यायको माग गर्दै धर्नामा बस्दापनि माग पूरा हुन नसकेको बताउनुभयो । आफ्नी दिदीको हत्यारा बाहिर खुलेआम हिडिरहँदा पनि कानूनी कारबाही नभएको बताउनुभयो । आफूहरुलाई गरिब, निमुखा भएको कारण राज्यले हेपेर माग सम्बोधन नगरेको उहाँले बताउनुभयो ।
उनीहरुले दोषि उपर कानूनी कारबाही हुनुपर्ने माग गरेका छन् । त्यसैगरी पीडित परिवारका सदस्यलाई कुटपिट गरेको भन्दै एसपी विश्वराज खड्का र डिएसपी प्रकाश गौतमलाई पनि नियन्त्रण गरि कारबाही गर्नुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्