
प्यूठान । पाटी, पौवा कुनै बेला भरिया र बटुवाको थकान मेटाउने र बास बस्ने चौतारीका रुपमा हुन्थे । पैदल यात्रु, बटुवा बास बस्न तथा थकान मेटाउन प्रयोग हुने चौतारी, बर पिपल, पाटी पौवा, धर्मशाला ठाउँ ठाउँमा देखिन्थ्यो । तर पछिल्लो समय शहरीकरण, आधुनिक जिवनशैलीका कारण यस्ता पाटी पौवा,चौतारा र धर्मशालाहरु हराउदै गएका छन् ।
परापूर्व कालमा पुर्खाहरुको चिनारी रहेको पाटी पौवा, धमर्भशाला मासिदै गएका हुन् । भरियाहरु भारी बिसाउन र थकान मेट्न यस्तै चौतारा र पाटी पौवाको भर पर्थे । पैदल बाटोमा ठाउँ ठाउँमा चौतारीका लागि बर पिपल रोपिएका हुन्थे ।
एकैछिन भएपनि चर्को घामबाट आएका भरियाहरु बरपिलको छायाँको आडमा सुस्केरा हाल्दै भारी बिसाएर आनन्द लिन्थे । तर, अहिले बर पिपल काटिएका छन्, चौतारी मासिएका छन् भने पाटी पौवा, धारा, कुवा, पनि मासिएका छन् ।
झिमरुक गाउँपालिका– ४ बाङ्गेमरोटका सूर्य बहादुर केसीलाई नुन र आवश्यक पर्ने खा््द्यान्न किन्न तथा घरमा उत्पादित घ्यू बेच्न बुटवल र पत्थरकोटसम्म गएको सम्झना अझै पनि उनको मानसपटलमा ताजै छ । गाउँका साथीहरु मिलेर टिनमा घ्यू र बाटो खर्च बोकेर पत्थरकोट जाने र त्यहाँबाट नुन किनेर फर्कन्थे । ७ दिनसम्म पैदल हिडेर पत्थरकोट पुगिन्थ्यो । पत्थरकोट जादाँ विभिन्न ठाउँमा बास बस्नु पर्दथियो ।
ठाउँ ठाउँमा पैदल यात्रीको बासका लागि पाटी पौवा, चौतारा र धर्मशाला बनाइएको हुन्थ्यो सोही पाटी पौवा, चौतारा, धर्मशाला र जंगलमा खाना पकाउने, खाने र बास बस्ने गरेको झिमरुक गाउँपालिकाका बासिन्दा बताउँछन् ।
एक ठाउँबाट अर्काे ठाउँमा जान र बटुवाको सहजताका लागि बाटोको छेउछाउमा थकाइ मार्न पाटी पौवा, चौतारा र धर्मशाला बनाइन्थ्यो । त्यतिबेला अहिले जस्ता होटल थिएनन् ।
तर अहिले भने बढ्दो आधुनिकता, सहरीकरण र सडक सञ्जालका कारण यस्ता पाटी पौवा, चौतारा र धर्मशालाहरु मासिँदै गएका छन् । पछिल्लो समय सडक बिस्तार, बसाइँसराइ र निर्माण गरिएका ऐतिहासिक यस्ता संरचना संरक्षण नहुँदा भत्किने र हराउन थालेको स्थानीयको गुनासो छ ।
पूर्खाहरुको इतिहाससँग जोडिएको पाटी पौवा, चौतारा र धर्मशालाको संरक्षण गर्न कसैँले चासो देखिएका छैनन् । मानव स्वास्थयका लागि र मानव जिवनसँग जोडिएको बर पिपलका सयौ वर्षका रुखहरु सखाप भएका छन् । न भारि बिसाउने चौतारी छ न त पाटी पौवा । जुन मान्छेकै कारण लोप हुदै गएका छन् ।
पूर्खाहरुले परापूर्व कालमा प्रयोग गर्दै आएका यस्ता ऐतिहासिक स्थलको संरक्षणमा स्थानीय बासिन्दा तथा स्थानीय सरकारले अझै पनि ध्यान नदिने हो भने यसले भविष्यमा ठूलो संकट निम्त्याउने पक्का छ ।
प्रतिक्रिया दिनुहोस्