२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मारिए


637
Shares

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा मारिएका छन् ।

निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर तस्करले गैँडा मारेको जनाइएको छ ।

अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिनुभयो । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका हुन् ।

छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको बताइएको छ ।

सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ । बिहीबार साँझमात्र घटनाको जानकारी पाएपछि अनुसन्धान थालिएको जनाइएको छ ।

निकुञ्जमा यस वर्ष चोरी शिकारीबाट गैँडा मरेको यो पहिलोपटक हो । गतवर्ष प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका थिए भने तस्करले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए ।