१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मैलुङ–स्याफ्रु सडकको काम सात महिनादेखि ठप्प


143
Shares

रसुवा । रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको काम सात महिनादेखि ठप्प छ ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने सबैभन्दा कम दुरीको यो सडकको काम अलपत्र हुँदा निकै सास्ती भएको छ ।

भारत सिद्धीशाही कन्स्ट्रक्सन, मुख्य ठेकेदार र पेटी ठेकेदारबीच विवाद भएपछि काम पुनः ठप्प भएको हो ।

गल्छी, त्रिशुली, मैलुङ, स्याफ्रुबेसी, रसुवागढी सडक योजनाका प्रमुख धु्रब श्रेष्ठले सडकको काम अगाडी बढ्न नसकेको बताउनुभयो । मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सोह्र किलोमिटर सडक स्तरोन्नति, पर्खाल निर्माण, नाली निर्माण एवं कालोपत्रे समेतका कार्यहरु अलपत्र परेका हुन् ।

ठेक्का पाएको भारत सिद्धीशाही कन्स्ट्रक्सन जेभीले समयमा काम नगर्दा यस्तो अवस्था आएको योजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनामा समेत निर्माण कम्पनीहरुले तीसदेखि पैतीस प्रतिशत काम गरेपछि केही भुक्तानी लिने र काम नगर्ने परिपाटीले सडकको काम हुन नसकेको हो ।

एक अर्ब ४५ करोड रुपैयाँको लागत इष्टिमेटअनुसार कार्य सम्पन्न गर्ने गराउने सम्झौता गरी कार्यारम्भ गरेको कन्स्ट्रक्सनले ३५ करोडको बिल भुक्तानी लिइसकेको योजनाले जनाएको छ ।

नेपाली सेनाद्वारा डबल लेनमा खोलिएको यस राजमार्गमा हालसम्म सुधारका कार्य भने पैतीस प्रतिशत मात्रै भएको प्राविधिकले जनाएका छन् ।