१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नुर्बुले विश्वजुनियर बक्सिङ खेल्ने


156
Shares

काठमाडौं । नेपालका नुर्बु थेन्डुप शेर्पाले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा चुनौति प्रस्तुत गर्ने भएका छन् ।

आगामी नोभेम्बर २३ देखि डिसेम्बर चारसम्म अर्मेनियाको येरेभानमा जुनियर विश्व च्याम्पियनसिप हुँदैछ ।

सो च्याम्पियनसिपमा नेपालका युवा बक्सर नुर्बुले १६ वर्षमुनि उमेरसमूहको ७० केजी तौलसमूहमा चुनौति प्रश्तुत गर्न लागेका हुन् । त्यसका लागि एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमवार अर्मेनियाको येरेभान प्रस्थान गरेको छ ।

नुर्बुको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ पनि हो । उनको प्रशिक्षकमा लालबहादुर पौडेल छन् । सोमबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले नेपाली टोलीलाई बिदाइ गरे । सो अवसरमा बक्सिङ महासंघका उपाध्यक्ष ओमनारायण श्रेष्ठले प्रतियोगितामा नुर्बुलाई एक ‘बाउट’ जितका लागि २५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे ।

श्रेष्ठले सोही अवसरमा गत असोजमा चीनको हाङझावमा सम्पन्न १९औं एशियाली खेलकुदको बक्सिङमा एक ‘बाउट’मा जित हात पारेका रविन थापालाई प्रोत्साहन स्वरूप पूर्वघोषित १० हजार रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरे । एशियाली खेलकुदमा रविनले पुरुष ५१ केजीको पहिलो चरणमा इण्डोनेसियाका खेलाडीलाई पराजित गरेका थिए ।