
काठमाडौं । सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्नेबारेमा छलफल गरेको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा प्रधानमन्त्री पुृष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद शर्मा लगायतका सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिइएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको समस्या छिटो र छरितो रुपमा समाधान गर्ने बारेमा छलफल भएको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई अझ चलायमान गर्नको लागि सुझाव लिन मंगलवार सिंहदरबारमा पुनः बैठक बस्ने पनि बताउनुभयो ।
अर्थमन्त्री महतले बैठकमा आफूले आन्तरिक संरचनाका उपलब्धि, चुनौति र कार्यदिशा प्रश्तुत गरेको बताउनु भयो । उहाँले अर्थतन्त्रका बारेमा प्रधानमन्त्री र गभर्नरले पनि आफ्ना धारणा राख्नुभएको र मंगलवारको बैठकमा निजी क्षेत्रसँग पनि छलफल हुने बताउनुभयो । उहाँले देशको अर्थतन्त्रले लय समातिरहेको र वाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदे गएको बताउनुभयो ।
अर्थमन्त्री महतले अर्थतन्त्र छिटो भन्दा छिटो चलायमान बनाएर देशमा थप रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा पनि छलफल भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्