१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सयपत्री फूल नबिकेर कुहिन थालेपछि कृषक चिन्तित


234
Shares

काठमाडौं । चाडवाडमा सयपत्री फूल नबिकेर कुहिन थालेपछि झापाका फूल कृषक चिन्तित भएका छन् । झापाको बिर्तामोड नगरपालिकाका फूल कृषकले लगाएका सयपत्री फूल तिहार र छठमा पनि नबिकेर कुहिन थालेका हुन् ।

तिहारका बेला भारतबाट सयपत्री फूल र फूलका माला बजारमा आएका कारण स्वदेशी फूल बिक्री नभएको उनीहरुले बताएका छन् ।

यसवर्ष सयपत्री फूलको राम्रो उत्पादन भए पनि भारतीय फूलले बजारमा कब्जा जमाएका कारण आफुहरुको मेहेनत र लगानी खेर गएको कृषकको गुनासो छ ।

खुला सिमाना भएका कारण भारतबाट सस्तो मूल्यका सपयत्री फूल र माला चोरी निकासी भएर भित्रिने गरेको उनीहरुले बताएका छन् ।

उता नेपालको फूल उत्पादक संस्थाले भारतबाट सयपत्री आयातमा प्रतिबन्ध लगाएको प्रचार गरे पनि सरकारी निकायबाट कुनै प्रतिबन्ध घोषणा नभएको भन्सार अधिकारीहरू बताउँछन् ।

खेतमा खेर गइरहेका सयपत्री फूल आयुर्वेदिक औषधि उत्पादक संस्थाहरूले खरिद गरेर लैजाने भनेको सुनिएपनि त्यस्ता कुनै संस्थाले सम्पर्क नगरेको स्थानीय कृषक बताउँछन् । साथै उनीहरुले सयपत्री फूल भण्डारण गर्न पनि उचित शीतभण्डार नपाएको गुनासो गरेका छन् ।