
रसुवा । केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ ।
तस्करले गहना बनाएर सुन ल्याउन थालेपछि प्रहरीले सूक्ष्म निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीले बताउनुभयो ।
उहाँका अनुसार केरूङबाट बेरुवा औठी लगाइ सुन आयात गर्न लागेको अवस्थामा उत्तरी रसुवाका तीन जना पक्राउ परेका छन् । यसपछि प्रहरीले गहना लगाउनेप्रति विशेष निगरानी बढाएको हो ।
केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले तीन जनासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–५ गोङगाङ का २९ वर्षीय सुरेश तामाङ, आमाछोदिङ्मो गाउँपालिका–५ तातोपानीका ३७ वर्षीय निमाटासी तामाङ र गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम बस्ने २३ वर्षीय ङवाङ लोप्चन तामाङ रहेको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।
उनीहरूको साथबाट १३ लाख ८८ हजार चार सय रुपैयाँ बराबरको सुन बरामद गरी कानुनी कारवाहीका लागि भन्सार कार्यालय टिमुरेमा बुझाइ सकिएको प्रहरीले जनाएको छ ।
यसैगरि गत आइतबार पनि प्रहरीको संयुक्त टोलीले बेरुवा औठी बनाएर ल्याएको अवस्थामा तीन जनालाई पक्राउ गरेको थियो । उनीहरुबाट १४ लाख ९१ हजार छ सय ८२ रुपैयाँ बराबरको सुनका औँठीसहित तीन जना पक्राउ गरी भन्सार कार्यालय बुझाइ सकिएको प्रहरीको भनाइ छ ।
रसुवागढी नाकाबाट स्थायी पास पाएका रसुवावासीले मात्र केरुङ आवत जावत गर्न पाउँछन् । केरुङमा सुन पसलको कारोबार गरिरहेका व्यापारीमार्फत गहनाका रूपमा अवैध कारोबार भएको हुनसक्ने प्रहररुकोे प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्