
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य जारी गरेको छ ।
पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोली पुगेर नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको र काम भै रहेको महासमिति सदस्य सुशिल भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार टोलीले करिब एक सय स्थानीयको अस्थायी आवास निर्माणमा सहयोग गर्ने लक्ष्य लिएको छ । १५० जनाको टोलीले क्षतिग्रस्त भएका घरहरुको भग्नावशेष पन्छाउन पनि सहयोग गरीरहेका छन् ।
टोलीमा नेता पौडेलसहित प्रदेश सभा सदस्य दिल्लीराम सुवेदी, महासमितिद्वय सदस्य सुशील भट्ट र महेन्द्र शाह, नेपाली कांग्रेसको कार्यालय सचिव मुक्ति आचार्य, नेता इन्जिनियर दीपक बाबु कडेल, नेपाली कांग्रेस जाजरकोट जिल्ला सहसचिव छवि पन्त, नलगाड नगरपालिका वडा नं ५ का वडाध्यक्ष ओमराज ओलीसहित नेताहरु भागवत् रेग्मी, पुस्प बस्नेत सुबास घिमिरे, नेबि सघ १० जनाकेन्द्रीय सदस्य लगायतका नेता कार्यकर्ता रहेका छन् ।
सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयमसेवक खटाउने निर्णय गरेको थियो । जसअनुसार कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको हो ।
पौडेल नेतृत्वको टोली नलगाड नरगपालिका ४ र ५ नम्बर वडामा खटिने छ । टोलीमा नेपालगन्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ५–६ जना इन्जिनियर समेत लगिएको पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्