
काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशको संसदीय सुनुुवाई प्रक्रिया सुरु भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश पदका लागि सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजित मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संसदीय सुनुवाई प्रक्रिया सुरु गरेको हो । साथै बैठकले मन्त्रीपरिषद्ले सिफारिस गरेका पोर्चुगलका लागि प्रश्तावित आवासीय राजदुत सनिल नेपालको लागि उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित राजदुत र सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिस गरिएकाहरुका लागि उजुरी दिन १० दिने सूचना जारी गर्ने प्रश्ताव समितिबाट पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपतिसमशेर जबराले जानकारी दिनुभयो ।
न्यायपरिषद्को गत मंसिर ५ गते बसेको बैठकले उच्च अदालत विराटनगरकी मुख्य न्यायाधीश सुवेदी, उच्च अदालतका न्यायाधीशहरु मुसलमान, पौडेल र ढुंगाना तथा कानून व्यवसायीको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय पोखरेल र ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसैगरी मन्त्रीपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले नेपाललाई पोर्चुगलका लागि आवासीय राजदुतको रुपमा नियुक्ति गर्ने सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्