२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संसद अधिवेशन नचलेको बेलामा के गर्दैछ संसद सचिवालय ?


52
Shares

काठमाडौं । संघीय संसद सचिवालयले संसद अधिवेशन अन्त्य भएको अवस्थामा पनि संसदीय समितिहरुले भने निरन्तर काम गरिरहेका जनाएको छ ।

संघीय संसदको दुवै सदनको अधिवेशन गत कार्तिक १६ गते अन्त्य भयो । सो दिन प्रतिनिधि सभाको दोस्रो अधिवेशन र राष्ट्रिय सभाको चौथो अधिवेशन अन्त्य भएको हो ।

संसद अधिवेशन अन्त्य भएसँगै नयाँ बानेश्वरस्थित संघीय संसद भवन सुनसान बनेको छ । यता, सांसदहरु र सांसदलाई भेट्न आउने आगन्तुकहरुले सधैँ भीड हुने सिंहदरबार क्षेत्रमा पनि मानिसहरुको चाप निकै कम भएको छ । संसदको अधिवेशन अन्त्य भएको यो बेलामा पनि संघीय संसद सचिवालयले भने प्रशासनिक कामको अलावा पनि संसदीय गतिविधिहरु जारी रहने जनाएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य भएपनि संसदीय समितिहरुले भने काम गरिरहेका बताउनुभयो । उहाँले यस अवधिमा समितिहरुले समितिमा विचाराधिन अवस्थामा रहेका विधेयकहरुमाथि विस्तृत रुपले छलफल गर्ने बताउनुभयो । त्यसैगरी समितिहरुले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालयले गरिरहेका कामहरुको निगरानी गर्ने, कार्य प्रगति बुझ्ने र आवश्यकता अनुसार निर्देशन दिने कामहरु समेत गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता गिरीका अनुसार सचिवालयले यसै अवधिमा सफ्टवेयरहरु अपडेट गर्ने, भिडियो तथा अडियो रेकर्डहरुको व्यवस्थापन गर्ने लगायतका कामहरु गर्ने गर्छ । त्यसैगरी वेवसाइटहरुलाई परिस्कृत गर्ने काम पनि यसै समयमा हुन्छ । उहाँले यो बेलामा नीतिगत प्रकारका र क्षमता अभिवृद्धिका कामहरु पनि संघीय संसद सचिवालयले सम्पन्न गर्ने बताउनुभयो ।

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले समितिहरु सुचारु अवस्थामा रहेको बताउनुभयो । उहाँले कतिपय समितिहरुले अधिवेशन अन्त्य भएको समयमा अनुगमनका कामहरु गर्ने गरेको बताउनुभयो । सभापति पन्थले समसामयिक विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराउने र निर्देशन गराउने कामपनि समितिहरुले गर्नसक्ने र सोही अनुरुप गरिरहेका पनि बताउनुभयो ।

सभापति पन्थले अधिवेशन अन्त्य भएको बेलामा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा पनि केन्द्रित हुने गरेका बताउनुभयो ।