२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


काम गर्ने समय आयो : सभापति देउवा


325
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताउनुभएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनको बुटवलमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले कम बोल्ने तर काम गर्ने आफ्नो स्वभाव रहेको पनि उल्लेख गर्नुभयो । उहाँले नेपाली कांग्रेस अझै बलियो र एकताबद्ध बन्ने विश्वास व्यक्त गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्तो पवित्रस्थल क्षेत्र भएकोले यहीँबाट नेपाली कांग्रेसलाई बलियो बनाउन लुम्बिनी प्रदेश सम्मेलनले महत्वपूर्ण सन्देश दिने बताउनुभयो ।

सभापति देउवाले बुद्धको जीवन दर्शनप्रति विश्वभर नै आस्था बढ्दै गएको बताउँदै अन्य धार्मिक समुदायले समेत बुद्धिजमलाई आत्मसाथ गरेकोले लुम्बिनीको भूमिमा भैरहेको कांग्रेसको प्रदेश सम्मेलन महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको हो ।

यस्तैै, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनले भूकम्प पीडितलाई मल्हम लगाउनेतर्फ महत्वपूर्ण निर्णय गरोस् भन्नुभयो । उहाँले अहिलेसम्म नेपाली कांग्रेसले देशलाई हरेक मोडमा नेतृत्व गरेको बताउँदै अब पनि नेतृत्व गर्ने दिन आएको बताउनुभयो । शर्माले देशको अभिभावकत्व कांग्रेसले गर्नुपर्छ भन्दै अब व्यवस्थामा परिमार्जन र अवस्थामा परिवर्तन चाहिएकोले कांग्रेसको संगठनलाई बदल्नु जरुरी रहेकोमा जोड दिनुभयो ।

सम्मेलनलमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट जिल्लाका पदाधिकारी तथा सदस्यको सहभागीता रहेको छ । सम्मेलन आइतबारसम्म सञ्चालन हुने छ ।