
काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ ।
केही दिन यताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै सर्वाधिक रह्यो । सोमबार सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँको नयाँ रेकर्ड कायम गरेको थियो । तर, मंगलबार तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । तर, सुनको मूल्य अझै बढ्ने व्यवसायीहरु बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलवार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँ रहेको थियो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ । नेपाली बजारमा गत कात्तिकमा सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरे पनि त्यसपछि लगातार रुपमा सुनको मूल्यमा गिरावट हुँदै आएको थियो । तर, पछिल्लो दुई हप्ता लगातार रुपमा सुनको मूल्य उच्च रुपमा बढिरहेको छ । तर, मंगलबार भने २ हजार ४ सय रुपैयाँले एकै दिन गिरावट आएको छ ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ५ रुपैयाँ कायम भएको छ । विश्वव्यापी अर्थतन्त्रमा मन्दि बढ्दै गइरहेको अवस्थामा सुनको मूल्यमा निरन्तर उतारचढाव छ । विश्वका लगानीकर्ताहरुले अन्य क्षेत्र भन्दा सुन सुरक्षित लगानीको रुपमा लिदाँ विश्व बजारमा सुनको मूल्य वृद्धि भएको जानकारहरु बताउँछन् ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय युद्ध, व्यापारमा मन्दि, मूल्यवृद्धि र उद्योगधन्दा समस्या परेको कारण लगानीकर्ताहरुको ध्यान सुनमा गएकाले सुनको मूल्य उच्च रुपमा वृद्धि भएको बताउनुभयो । उहाँले दुई, तीन हप्तादेखि उच्च रुपमा सुनको मूल्यमा वृद्धि हुनु रुस र युक्रेन युद्धको असर अन्तर्राष्ट्रिय अर्थतन्त्रमा कायम रहनु, अमेरिका र चीनबीचको व्यापारीक युद्धको असर र प्यालेस्टाइन र इजरायलको युद्ध प्रमुख कारण देखिएको बताउनुभयो ।
अध्यक्ष शाक्यले विश्व ठूला लगानीकर्ताले विभिन्न क्षेत्रमा लगाएको लगानी डुब्ने चिन्ताले अन्य क्षेत्रमा लगाएको लगानी झिकेर सुरक्षित लगानीका रुपमा सुनमा लगानी गरेको बताउनुभयो । उहाँले विश्वका लगानीकर्ताहरुले सुनमा लगानी गर्दा सुरक्षित देखेर लगानी वृद्धि गरेकाले सुनको मूल्य उच्च रुपमा बढेको दाबी गर्नुभयो ।
संस्थापक अध्यक्ष शाक्यले अमेरिकी फेडरल रिजर्व बैंकले कही दिन अगाडि निक्षेपको ब्याजदर बढाउन नसक्ने निर्णयपछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी लगाए थालेको बताउनुभयो । उहाँले अहिले विगतमा सस्तोमा किनेको सुन मूल्य वृद्धि भएकाले विश्वभर नै बजारमा सुन किन्ने भन्दा बेच्ने वृद्धि भएकाले मंगलबार मूल्यमा गिरावट आएको बताउनुभयो ।
अध्यक्ष शाक्यले नेपाली बजारमा पनि त्यसैको असर देखिएको बताउनुभयो । उहाँले नेपाली बजारमा मंसिर महिनाको विवाहको लगनको बेलामा विगतमा दैनिक ६० किलो खपत हुने गरेकोमा अन्तर्राष्ट्रिय बजार मूल्यको असरका कारण २० किलोबाट अहिले दैनिक १० केजी मात्रै खपत रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्