१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मधेशका हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार निर्माण गर्छौ : मुख्यमन्त्री यादव


52
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका खेलाडीहरुलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार निर्माण गर्ने बताउनुभएको छ ।

केपी ओलीकप टि २० क्रिकेट प्रतियोगितामा जित हासिल गरेको मधेश प्रदेश टिमका खेलाडी एवं पदाधिकारीहरुलाई बधाई दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू आएदेखि नै खेलकुद विकासको लागि प्रतिवद्ध भएको बताउनुभयो ।

मुख्यमन्त्री यादवले प्रदेशका विजयी टिमलाई पाँच लाख रुपैयाँ प्रोत्साहनस्वरुप प्रदान गर्ने घोषणा गर्नुभयो । उक्त अवसरमा मुख्यमन्त्री यादव, प्रदेश सभा सदस्य रामाशीष यादव एवं प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरेले खेलाडीहरु, प्रशिक्षक एवं पदाधिकारीहरुलाई खादा ओढाई सम्मान गर्नुभएको थियो ।

पोखरामा मंसिर १५ गते भएको रोमाञ्चक फाइनलमा मधेश प्रदेशले दश जना राष्ट्रिय खेलाडी सामेल त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको थियो । यसअघि धनुषा जिल्ला क्रिकेट संघका उपाध्यक्ष आकाश पाण्डेले सम्मानबाट खेलाडीहरु उत्साहित भएको बताउनुभयो ।

नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय उपाध्यक्ष रोशन सिंहले खेलाडीले सारा देश र प्रदेशलाई खुशी दिन्छ तसर्थ खुशीयाली दिनेहरुका खुशीको बाटो खोल्न, खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न मुख्यमन्त्रीसँग आग्रह गर्नुभएको थियो ।