
काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोईरालाले मौद्रिक नीतिको समिक्षा अर्थतन्त्र चलायमान बनाउने किसिमले आएको बताउनुभएको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाका विषयमा प्रतिक्रिया दिँदै उपाध्यक्ष कोईरालाले यस्तो बताउनुभयो । उहाँले घरजग्गा कर्जा र शेयर कर्जाको जोखिम भार १५० बाट १२५ मा झार्ने र आवासीय कर्जामा पनि परिमार्जन भएकाले बैंकहरुले पनि बिस्तारै कर्जा प्रवाह बढ्ने बताउनुभयो ।
उपाध्यक्ष कोईरालाले मौद्रिक नीतिको समिक्षाले आगामी पुस महिनादेखि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने देखिएको दाबी गर्नुभयो । उहाँले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाउँदा निक्षेपको ब्यादर घटाउनुपर्ने बैंकहरुलाई दवाव सिर्जना भएको बताउनुभयो ।
उपाध्यक्ष कोईरालाले बैंकहरुको कर्जाको ब्याजदर पनि घट्दै जाने अवस्था देखिएको बताउनुभयो । उहाँले बैंकको निक्षेपको ब्याजदर घट्दा कर्जाको पनि ब्याजदर घट्दा ऋणीहरुलाई सहज हुने बताउनुभयो । उहाँले बैंकहरुले राष्ट्र बैंकले तोकेको दरमा ब्याजदर घटाउँदै लैजाने बताउनुभयो ।
उपाध्यक्ष कोईरालाले माघ महिनामा बैंकहरुले व्याजदर परिर्वतन गर्दा कर्जाको ब्याजदर घट्न दाबी गर्नुभयो । उहाँले चाडपर्व भर्खरै सकिएको भन्दै लचिलो मौद्रिक नीतिको समिक्षा आएकाले माग समेत वृद्धि हुँदै जाने जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्