१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भ्रष्टाचार नियन्त्रणका लागि पनि महिला नेतृत्व आवश्यक : मन्त्री आचार्य


65
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि महिलाहरुलाई नेतृत्वमा पुर्‍याउनुपर्ने दाबी गर्नुभएको छ ।

महिलाहरुले नेतृत्व लिएको स्थानीय तहमा भ्रष्टाचारमा कमी आएको भन्दै मन्त्री आचार्यले उनीहरुलाई मुलुकको नेतृत्वको पुर्‍याउन सके भ्रष्टाचार नियन्त्रणको काम प्रभावकारी हुने जिकिर गर्नुभयो । नेपाल प्रेस युनियन, महिला विभागले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आचार्यले महिलाहरुले पनि आफ्नो क्षमताको विकास गर्ने कुरामा बढी ध्यान दिनुपर्ने बताउनुभयो ।

मन्त्री आचार्यले महिलामाथि हुने विभेदको अन्त्य महिला मन्त्रालय एक्लैको प्रयासबाट सम्भव नहुने समेत बताउनुभयो । घरघरमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भए मात्रै उनीहरुमाथि हुने विभेद अन्त्य गर्न सकिने उल्लेख गर्दै उहाँले त्यस काममा जुटन पनि सबैलाई आह्वान गर्नुभयो ।

मन्त्री आचार्यले महिलाहरु राष्ट्रपति जस्ता माथिल्लो पदमा पुगेपनि महिलामाथि हुने विभेद अन्त्य गर्ने काममा कठिन हुनुमा हाम्रो सामाजिक अन्धविश्वास कुरीति जिम्मेवार रहेको बताउनुभयो । उहाँले नेपालको संविधानले महिला सशक्तिकरणका लागि आवश्यक व्यवस्था गरेकाले त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।