
धनकुटा (प्रकाश पाक्साँवा) । प्रचारप्रसार तथा प्रवर्धन गर्न नसक्दा धनकुटामा रहेका पर्यटकीय स्थलहरु ओझेलमा परेका छन्। पर्यटकीय स्थलको प्रचारप्रसारका लागि धनकुटाको सिधुवामा हाईकिङ कार्यक्रम आयोजना गरिएको छ ।
स्थानीय सरकार तथा स्थानीयको नजरमा गुमनाम रहेको तर, प्रचुर सम्भावना बोकेका पर्यटकीय स्थलहरु प्रवर्धन तथा प्रचारप्रसार नुहँदा ओझेलमा पर्दै आएका हुन् । यस्तै ओझेलमा पर्दै आएका पर्यटकीय स्थलहरुलाई प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उदेश्यले धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ सिधुवामा रहेको सगरमाथा इंग्लीश बोर्डिङ स्कुलले हाइकिङ कार्यक्रम आयोजना गरेको छ । स्कुलमा अध्ययनरत कक्षा ९ र १० विद्यार्थीहरुका साथै राष्ट्रिय खेलाडीहरु निक्की नेम्बाङ र लक्ष्मी नारायण श्रेष्ठका साथमा शिक्षकहरुको टोलीसहित धनकुटा, तेह्रथुममा रहेका स्थानीय पर्यटकीय स्थलहरुमा हाइकिङ गरिएको हो । विद्यार्थीहरुलाई लिएर स्थानीय क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुलाई प्रवर्धन गर्ने मुख्य उदेश्यका साथ हाइकिङ गरिएको स्कुलका प्रधानध्यापक दिवेश खड्काले बताउनु भयो ।
धनकुटाको सिधुवाबाट सुरु भएको हाइकिङ तेह्रथुमको मार्गपोखरी, सभापोखरीका साथै धनकुटाको कालीपोखरी, चित्रे, हलहले पटेक, नुनथला लगायतका स्थानहरुमा गरिएको थियो । आफ्नै स्थानमा रहेका पर्यटकीय स्थलहरुको अध्ययन अवलोकन गर्दै नेपालका चर्चित पर्यटकीय गन्तव्यको विकल्प यहाँ रहेको कक्षा १० मा अध्ययनरत विद्यार्थी दीक्षा विष्टले बताउँछिन् ।
स्थानीय स्तरमा रहेका पर्यटकीय स्थलहरुलाई हाईकिङद्वारा पर्यटन प्रवद्र्धन गर्नु छुट्टै प्रयास भएको छ । पर्यटकीय स्थलको अवलोकन, प्रवद्र्धनका साथै स्वास्थ्यको लागि पनि हाइकिङ राम्रो हुने राष्ट्रिय खेलाडी निक्की नेम्बाङको भनाइ छ ।
हाङकिङ मनोरञ्जनका लागि मात्र नभइ स्थानीय क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि उपयुक्त माध्यम हुन सक्नेछ । स्थानीय पर्यटकीय गन्तव्यहरुलाई प्रवद्र्धन तथा प्रचारप्रसारमा जोड्न यी र यस्तै फरक तरिकाहरुलाई आगामी दिनहरुमा स्थानीय सरकार तथा स्थानीयले जोड दिनु आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्