७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


शेयर बजारमा करेक्सन


897
Shares

काठमाडौं । आइतबार सकारात्मक सर्किट लागेर एक घण्टा पनि नपुग्दै बन्द भएको शेयर बजारमा सोमबार भने करेक्सन आएको छ ।

मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्रबैंकले केही लचक नीति लिएपछि आइतबार १११ अंकले बढेको नेप्से सोमबार भने १५ अंक भन्दा बढीले घटेको हो ।

दिनभर निकै उतार चढावपूर्ण रहेको बजार १५ दशमवल ४० अंकले घटेपछि नेप्से १९४८ दशमलव ५७ को बिन्दुमा रहेको छ । सोमबार ३०३ कम्पनीका १ करोड ४६ लाख ९८ हजार ५ सय १७ कित्ता शेयर ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३ सय ८६ रुपैयाँमा किनबेच भएको छ ।

सोमबार सोनापुर सिमेन्टको सर्वाधिक २५ करोड १५ लाखको कारोबार भएको छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५७ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख, माउन्टेन इनर्जीको १४ करोड ४० लाख र शिवम सिमेन्टको १३ करोड ७३ लाखको कारोबार भएको छ ।

सोमबार बोटलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सोमबार समता घरेलु लघुवित्तका लगानीकर्ताले सर्वाधिक ७ दशमलव १५ प्रतिशत र मन्दाकिनी हाइड्रोका लगानीकर्ताले ५ दशमलव ८७ प्रतिशतले गुमाएका छन् ।

कारोबारमा आएका उपसमूह मध्ये उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेकका सबै उपसमूह घटेका छन् । घटेका मध्ये विकास बैंक उपसमुह सर्वाधिक २ प्रतिशत बढीले घटेको छ ।