
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाललाई शैक्षिक केन्द्र बनाउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले आयाजना गरेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई एजुकेसनल हब बनाउनसके र नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्नसके नेपालको स्तर माथि उठ्ने दाबी गर्नुभयो ।
मन्त्री गुरुङले शिक्षा विधेयक ल्याउनलाई प्रसव पीडा भोग्नुपरेको बताउनुभयो । उहाँले शिक्षा विधेयक अहिले सबै सरोकारवाला निकायहरुसँग छलफल गरी संसदीय समितिमा रहेको बताउनुभयो । उहाँले छिटो ल्याउनुपर्ने शिक्षा विधेयक ल्याउन ढिलाइ भइरहेको पनि बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्याब्सनका अध्यक्ष डिके ढुंगानाले प्याब्सनको एकमात्रै ध्येय नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको बताउनुभयो । उहाँले सवा लाख विद्यार्थी विदेश जाने नभइ सवा लाख विद्यार्थी नेपाल भित्र्याउने ध्येय प्याब्सनको रहेको बताउनुभयो ।
अध्यक्ष ढुंगानाले निजी विद्यालयलाई पनि सरकारले नीतिमा सहजता र सरलता, कक्षा कोठा, भौतिक पूर्वाधार विकासका लागि चाहिने सहयोगमा सामुदायिक विद्यालयझैँ गरी अघि बढाउन कसरी सक्छ भन्ने बारेमा छलफल गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्