१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रामजानकी विवाह : जनकपुरधाममा दर्शनार्थीको घुइँचो


507
Shares

जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत जनकपुरधाममा आज राम जानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिँदैछ ।

यसका लागि जानकी मन्दिरको प्रांगण सजाइएको छ । विवाहपूर्व आज जानकी मंदिरबाट निस्किने माता सीताको डोला अर्थात बेहुली पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान रामको डोला अर्थात बेहुला पक्षको टोली जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान १२ बिघामा पुगेर मिलन हुनेगर्छ ।

रंङभूमि मैदानमा दुवैपक्षको डोला पुगेपछि लाखौंको संख्यामा उपस्थित
तिर्थालुहरुबीच मिथिला परम्परा अनुसार स्वयंबर कार्यक्रमको आयोजना हुने गर्दछ ।

स्वयंबर कार्यक्रमको अवलोकन गर्न नेपाल तथा भारतबाट समेत तिर्थालुहरु आउने गर्दछन् । स्वयंबर कार्यक्रमको समापन भएपछि रंङभूमि मैदानबाट दुवै मंदिरको डोलासहित संयुक्त रुपमा निस्कने शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरि जानकी मंदिरको प्रांङण पुग्ने गर्दछ ।

जानकी मन्दिरकै प्राङणमा भारतको अयोध्याबाट जन्तीका रुपमा आएका साधु सन्तको उपस्थितिमा भगवान राम र माता सीताको विवाह सम्पन्न हुने गर्दछ ।

मिथिलाको विधान अनुसार अबेर रातिसम्म चल्ने यस वैवाहिक कार्यक्रमको अवलोकन गर्न मन्दिरको प्रांङणमा हजारौको संख्यामा तिर्थालुहरुको उपस्थिति हुने गर्दछ ।

पछिल्लो वर्षको तुलनामा यस वर्ष दर्शनार्थीहरुको संख्यामा उल्लेख्य मात्रामा वृद्धि हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको विश्वास छ ।

रामजानकी विवाहका लागि जनकपुरधाममा लाखौँ दर्शनार्थीहरुको घुइँचो लागेको छ । (तस्बिरहरु)