
काठमाडौं । कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तेस्रो संस्करण माघ १८ गतेदेखि हुने भएको छ ।
नेपाल सितोरियो कराँते संघ जिल्ला प्रमुख डोजो लगनखेलको आयोजनामा आगामी माघ १८ देखि प्रतियोगिता हुन लागेको हो ।
मंगलबार आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो । तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, एपिएफ क्लब र सात प्रदेश गरी कुल १० टोलीका दुई सय १० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टिमले २१ खेलाडी सहभागी गराउन पाउने छन् । एकल र टिम कातासहित पुरुषमा ९ र महिलामा ८ गरी जम्मा १७ स्पर्धमा खेल हुने छ ।
टिम च्याम्पियनले एक लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । पुरुष÷महिलामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । सोही पत्रकार सम्मेलनमा आयोजक र गोदवारी नगरपालिकाबीच चार संस्करण प्रायोजन गर्ने पूर्वसहमति बमोजिम तेस्रो संस्करणका लागि पनि सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ ।
आयोजकका अध्यक्ष श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सो पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार मुख्य प्रायोजक गोदावरी नगरपालिकाले १५ लाख सहयोग गर्ने छ । आयोजकका अनुसार सातदोबाटोस्थित कराते हलमा हुने तीन दिने प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुने छ ।
सो अवसरमा बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जनले स्तरीय प्रतियोगिता मध्येको एक भएकाले सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । मेयर महर्जनले गोदावरी नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिँदै आएको उल्लेख गर्दै प्रतियोगिताले एरिका गुरुङ (हाङझाव एसियाडकी ऐतिहासिक रजत विजेता) जस्ता खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्