
काठमाडौं । सुनसरीको इनरुवामा प्रदेश प्रहरी अस्पताल उद्घाटन गर्नेगरी थालिएको तयारी बिथोल्ने काम भएको भन्दै जिल्लाका राजनीतिक दलहरुले भत्सर्ना गरेका छन् ।
नेपाली काँग्रेसको पार्टी कार्यालय इनरुवामा बसेको सर्वदलीय बैठकले सञ्चालनको तयारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल अविलम्व उद्घाटनको माग गरेको छ ।
सर्वदलीय बैठकले चार वर्षअघि नै प्रदेश प्रहरी अस्पताल इनरुवामै रहने सहमति बमोजिमको प्रक्रिया अघि बढाइएको विषयलाई जोड्दै अस्थायी रुपमा अन्यत्र गएको भनेको छ ।
बैठकले अस्थायी रुपमा बेलबारीबाट सेवा थाल्दै आएको प्रदेश प्रहरी अस्पताल स्वयंले उपयुक्त स्थान र दाता खोजीका क्रममा जिल्ला समन्वय समिति सुनसरीले उपलब्ध गराएको संरचना उपयुक्त ठानी सेवा बिस्तारका लागि रोजेको स्पष्ट पारेको छ ।
प्रहरीको प्राविधिक टोलीसहित कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला सहितको टोलीले दुवै तर्फका पूर्वाधार संरचनाको अध्ययन गरी इनरुवा उपयुक्त ठहर गरेको दलको ठहर छ ।
पूर्वपरिपत्र र सूचनाका आधारमा बेलबारीबाट अस्पताल इनरुवा सारिएको दाबी गरेका सुनसरीका दलीय अगुवाहरुले राजनैतिक आडमा अस्पताललाई इनरुवाबाट हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
सर्वदलीय बैठकले इनरुवामा उद्घाटन गर्न तयारी अवस्थामा रहेको अस्पतालको विषयमा विवाद सृजना गराउने काम भएको भन्दै अस्पताल संरक्षणका लागि आफूहरु सडक संघर्षमा उत्रन समेत तयार रहेको जनाएको छ ।
सर्वदलीय बैठकको नेतृत्व गरेको नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारीले प्रहरीले नै इनरुवा रोजेको अस्पताल जबरजस्ती अन्यत्र लैजान खोजिए सुनसरीका दल आन्दोलनमा उत्रिने बताउनु भयो । उहाँले सृजित घटनाक्रमलाई केन्द्रिय तहबाटै निष्पक्ष छानबिन टोली गठन गरी सुल्झाइनुपर्ने माग राख्नुभयो ।
यता, जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताले प्रहरीको प्राविधिक टोलीले उपयुक्त ठहर गरी सञ्चालनका लागि स्रोत साधन जुटाइसकेको अवस्थामा अस्पताल उद्घाटन हुन नदिनु दुःखद् भएको प्रतिकृया दिनुभयो । मेहताले लामो समयदेखि प्रदेश प्रहरी अस्पतालले जग्गा सहितका पूर्वाधार खोजिरहेको अवस्थामा आफूले समितिबाट पास गराएर २ विगाह ३ कट्ठा जग्गा सहित ४० कोठे भवन संरचना उपलब्ध गराएको बताउनु भयो । मेहताले प्रहरी अस्पतालकालागि आवश्यक संरचना बेलबारी र इनरुवामध्ये कुन उपयुक्त भन्ने बारेमा निष्पक्ष छानबिन समिति गठन गरेर अनुगमनपछि टुंग्याइनु पर्ने बताउनु भयो ।
सर्वदलीय बैठकले आफूहरुका जायज माग सम्बोधनमा ढिलाइ भए रिले अनशनसहित सडक संघर्षका कार्यक्रम अघि बढाउने समेत निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्