
काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालले भूराजनीतिक साहायताको आधारमा वैदेशिक अनुदान र सहयोग लिने गरेको बताउनुभएको छ ।
शुक्रबार वैदेशिक सहयोगको प्रभावकारीता आधारित डा.डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. खतिवडाले आर्थिक विकासको लागि भन्दा पनि नेपालले भूराजनीतिक साहायताको आधारमा वैदेशिक अनुदान र सहयोग लिने गरेको बताउनुभएको हो ।
डा. खतिवडाले वैदेशिक सहयोगमा राजनीतिक अर्थतन्त्रका कुराहरु जोडिने गरेको बताउनुभयो । भूराजनीतिक र विश्व अर्थतन्त्रमा पावरको हिसाबले नसोचेको भए अमेरिकी परियोजना एमसीसी विगतमा ल्याउन लागिएको थियो भन्ने कथा मात्रै सुनिने तर कार्यान्वयनमा आउने अवस्था नभएको उहाँको भनाई थियो ।
डा. खतिवडाले भूराजनीतिक र विश्व अर्थतन्त्रमा अमेरिका बलियो भएकाले नै एमसीसी परियोजना कार्यान्वयनमा ल्याउनुपरेको स्पष्ट पार्नुभयो । उहाँले भूराजनीतिक र विश्वमा अर्थतन्त्रको पावरको हिसावमा नेपालले कुन देशको सहायता लिँदा र नलिँदा कस्तो असरपर्छ भन्ने विषयमा तुलना गर्न आवश्यक हुने बताउनुभयो ।
डा. खतिवडाले नेपालमा कतिपय योजनाहरु सरकारको खुशीले भन्दा पनि शक्ति सन्तुलनको रुपमा लिइरहेको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रमा विश्वको पावर मुलुकको परियोजना नभए देश नचल्ने भन्ने अवस्था नभएको भन्दै अमेरिकाको एमसीसी अगाडि बढाउँछौं भने चीनको बिआरआई परियोजना पनि नेपालले अगाडि बढाउनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गर्नुभयो ।
डा. खतिवडाले वैदेशिक सहायता स्वीकार गर्दा भूराजनीतिक सन्तुलन नेपालको लागि जरुरी रहेको बताउनुभयो । उहाँले नेपाल कुनै पनि देशको सहायता लिनुहुन्न भन्ने अवस्थामा अहिले नपुगेको पनि उल्लेख गर्नुभयो ।
डा. खतिवडाले अबको १५ वर्षसम्म ५ देखि ७ प्रतिशतको आर्थिक वृद्धि गर्दा अनुदान लिँदैनौं भन्ने अवस्थामा पुग्न सकिने दाबी गर्नुभयो । उहाँले अल्पविकसित देशबाट विकासोन्मुख देशमा स्तर उन्नती भएपछि अनुदान हट्दै जाने अवस्था रहेको भन्दै अनुदान नलिने अवस्थामा पुग्नको लागि मुलुकको आन्तरिक राजस्व बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्