
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई राजनीतिक सहमतिमा टुंग्याउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई राजनीतिक सहमतीमा टुंग्याउनुपर्ने धारणा राख्नुभएको हो । उहाँले यो विषयमा प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुका बिचमा पटक-पटक छलफल भएको भएपनि सहमति जुट्न नसकेको स्पष्ट पार्नुभयो ।
मन्त्री गुरुङले यो विधेयकलाई संसदीय प्रक्रिया अनुरुप टुंग्याउने भन्दापनि सहमतिमा टुंग्याउन प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले शिर्ष तहमा छलफल भइरहेको भन्दै सहमतिको प्रयास सम्भव नभएमा मात्रै अर्को विकल्पमा सोच्नुपर्ने बताउनुभयो । उहाँले सहमतिको प्रयासलाई छाडेर प्रक्रियामा गएर टुंग्याउँदा गलत सन्देश जान सक्ने बताउनुभयो ।
मन्त्री गुरुङले मुलुकलाई युद्धबाट शान्तिमा ल्याउने वृहत शान्ति सम्झौतासँग जोडिएको विषय भएकाले यो विधेयकलाई अन्य विधेयकजस्तो सहज ढंगले लिनु नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्