
काठमाडौं । ‘हरिबहादुर बुढामगर फाउण्डेसन’ (एचबिएम)ले सगरमाथा आरोहणका क्रममा सहयोगी बनेर जाँदा ज्यान गुमाउनेका परिवारलाई निरन्तर सहयोग गर्ने घोषणा गरेको छ ।
कीर्तिमानी आरोही हरिबहादुर बुढामगरले स्थापना गरेको फाउण्डेसनले सहयोग स्वरुप यस वर्ष सगरमाथा आरोहणका क्रममा सहयोगी बनेर जाँदा ज्यान गुमाएका ६ जनाको परिवारलाई सहयोग गरेको हो । ललितपुरको रिडी लाउन्जमा एक कार्यक्रमबीच फाउण्डेसनले शनिबार मृतकका परिवारका सदस्यलाई जनही १÷१ लाख रुपैयाँ सहयोग गरेको हो ।
फाउण्डेसनका संस्थापक एवं अध्यक्ष बुढामगरले मृतकका परिवारलाई सहयोग हस्तान्तरण गर्नुभयो । बुढामगर आफैं कीर्तिमानी सगरमाथा आरोही हुनुहुन्छ । बुढामगरले २०८० जेठ ५ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । उहाँले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्तिको विश्व रेकर्ड कायम गर्नुभएको छ ।
सहयोग हस्तान्तरण गर्दै बुढामगरले कुनैपनि व्यक्तिका लागि सगरमाथाको शिखरमा पुग्नुमा पथप्रदर्शक (शेर्पा) हरुको मुख्य भुमिका हुने बताउनुभयो । बुढामगरले सगरमाथा आरोहण गर्नेहरूको सहयोगि बनेर जाँदा ज्यान गुमाउनेका परिवारलाई हरेक वर्ष सहयोग उपलब्ध गराउने बताउनुभयो ।
अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकरसमेत रहनुभएका बुढामगरले समरमाथा आरोहणपश्चात सम्मान पाइरहनुभएको छ । बुढामगरले आफू कुनै चर्चाको लागि भन्दा पनि अपाङ्ग सचेतनाका लागि सगरमाथा आरोहण गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्