
इलाम । किराँतीहरूको पर्व उधौलीको अवसरमा इलामको माङसेबुङमा हस्टेमा वाबुक (चिन्डो)को प्रतिमाको पनि अनावरण गरिएको छ ।
वाबुकको अनावरण माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले गर्नुभएको हो । किराँत राईहरूको प्रतीकको रूपमा रहेको वाबुक (चिन्डो) जन्मदेखि मृत्युसम्मका मुन्धुमी संस्कारमा प्रयोग गर्ने गरिएको छ ।
उधौलीको अवसरमा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले विभिन्न जातजातिको भाषा, संस्कार र संस्कृतिको संवद्र्धनमा गाउँपालिकाले सधैँ सहयोग गर्ने बताउनुभएको छ ।
उहाँले विभिन्न पर्वहरूको अवसरमा आयोजना गरिने यस्ता सांस्कृतिक कार्यक्रमले पहिचान स्थापित गर्न र संस्कार, संस्कृतिलाई बचाइराख्न सहयोग गर्ने बताउनुभयो ।
यस्तै उधौलीको अवसरमा वृहत् साकेला सिली समेत प्रदर्शन गरिएको छ । उधौलीसँगै किराँतीहरूको नयाँ वर्ष यलेदोङ ५०८३ को अवसरमा माङसेबुङ–६ स्थित हस्टेमा किराँत राईहरूको सांस्कृतिक नृत्य साकेला सिलीको प्रदर्शन गरिएको हो । साकेलाले किराँत राईहरूको पहिचानलाई स्थापित गरेको छ । किराँतीहरूले मंगलबार उधौली पर्व धुमधामका साथ मनाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्