
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडौंमा बस्ने भएको छ ।
शुक्रबारसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने छ ।
बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिने छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने, सङ्गठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने उहाँले जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन पेस गर्नुहुने छ । विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्