
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भिर गृहकार्यमा रहेको बताउनुभएको छ ।
मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार भएपनि अपेक्षित सुधार हुन नसक्दा चिन्तित रहेको बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले यसको सुधारका लागि गम्भिर गृहकार्यमा रहेको बताउनुभयो । उहाँले व्यापार घाटामा पनि कमी आएको बताउनुभयो । उहाँले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्ष भन्दा २.७ प्रतिशतले कम भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले उपभोक्ता मूल्य वृद्धिदरलाई आम जनताले महशुस गर्नेगरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले बैंक तथा बित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरुको व्याजदर एकल अंकमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सबै आर्थिक र कुटनीतिक नियोगहरुलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गर्नुभयो । उहाँले कार्यक्षमता कमजोर भएका राजदुत र नियोग प्रमुखहरुलाई फिर्ता बोलाउने तयारी गरिरहेको पनि जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्