६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


यमरी सबै समुदायमा प्रिय, यमरी किन्नेको भीड


1.43k
Shares

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी

काठमाडौं । महिनैपिच्छे कुनै न हुनै पर्व मनाउने नेपालीहरुमा मंसिर पूर्णिमाको छुट्टै महत्व छ । अन्नबाली थन्क्याएर भरिपूर्ण भएको बेला पर्ने यो पूर्णिमा समुदाय अनुसार फरक फरक तरिकाले मनाउने गरिन्छ । नेवार समुदायले यो पूर्णिमालाई यमरी पुन्हि अर्थात यमरी खाने पूर्णिमाको रुमा मनाउने गर्दछन् । नेवार समुदायमा निकै चर्चित यमरीको सांस्कृतिक महत्व त छँदै छ त्यसमाथि यो परिकार अहिले सबै समुदायको प्रिय बन्न थालेको छ ।

हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिनलाई नेवार समुदायले यमरी पुन्हि अर्थात यमरी खाने पूर्णिमाको रुपमा मनाउने गर्दछन् । विभिन्न परिकारका लागि प्रसिद्ध नेवार समुदायले यस पूर्णिमा बनाउने विशेष परिकार हो यमरी । यमरी पूर्णिमाको दिन नेवार समुदायका घर घरमा पाक्ने यमरी अर्थात मनपर्ने रोटी आफैंमा मिठो त हुन्छ नै त्यसमाथि यसको सांस्कृतिक महत्व पनि छ । नेवारी भाषामा य को अर्थ मनपर्ने र मरीको अर्थ रोटी हो । यमरीको आकार र बनाउने तरिका पनि विशेष हुन्छ । मंसिर महिनामा भित्रिने नयाँ धानको पीठाबाट बनाइने यो परिकार इष्ट देवतालाइ प्रसादको रुपमा चढाउने परम्परा छ ।

नेवार समुदायका अन्य विभिन्न सांस्कृतिक अवसरमा पनि यमरी पकाउने चलन छ । बालबालिको जन्मदिनमा पनि यमरीको माला लगाईदिने गरिन्छ । बालबालिका २ वर्ष, ४ वर्ष र १२ बर्ष हुँदा यमरीभित्र उमेर अनुसार अक्षता राखी बनाइएको यमरीको माला लगाईदिने चलन छ । त्यसो गर्दा बालबालिकाको आयु बढ्ने जनविश्विास रहीआएको छ । यमरीभित्र राखिने चाकु र खुवाले शरीर तताउन र चिसोबाट बचाउन मद्धत गर्ने भएकाले यति बेला चाहीँ यमरी परिकारको विशेष महत्व रहने गर्दछ ।

पछिल्लो समय यमरीको आकर्षण नेवार समुदायमा मात्रै सीमित छैन । अन्य समुदायले पनि यो परिकार निकै मन पराउन थालेका छन् । यस पर्वको अवसरमा राजधानीका विभिन्न क्षेत्रमा यमरी किन्नेहरुको भीडले पनि यमरीप्रतिको आकर्षण पुष्टि गर्दछ । त्यसो त अहिले यमरी खान मंसीर पूर्णिमा नै कुर्नु पनि पर्दैन । व्यापारिक रुपमा पनि यो परिकार अगाडि आइसकेको छ ।