२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बालकुमारी घटनाको अनुसन्धान गर्न शेखर पौडेलको अध्यक्षतामा आयोग गठन


338
Shares

काठमाडौं । सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न जाँचबुझ तीन सदस्यीय आयोग गठन गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले ललितपुर महानगरपालिका– ८ बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा पूर्वएआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहनुभएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो ।

मन्त्री शर्माले उहाँले घटनामा भएको मानवीय, भौतिक लगायतका अन्य क्षतिको विवरण अध्ययन विश्लेषण गर्ने, उक्त घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमी कमजोरी पहिचान गर्ने, बालकुमारी घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भुमिकाका बारेमा अध्ययन गर्ने र दोषी देखिएको जो कोहीलाई पनि कारबाहीको सिफारिस गर्ने बताउनु भयो । उहाँले आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक सुझावहरु पेस गर्नेगरी आयोगले आजैबाट काम थाल्ने पनि बताउनु भयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘…आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग बनेको छ । यसमा पूर्वएआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहनुभएको छ । यो आयोगलाई एउटा कार्यादेश दिइएको छ । उक्त घटनामा भएको मानवीय, भौतिक लगायतका अन्य क्षतिको विवरण अध्ययन विश्लेषण गर्ने, उक्त घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमी कमजोरी पहिचान गर्ने, बालकुमारी घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भुमिकाका बारेमा अध्ययन गर्ने, दोषी देखिएको जो कोहीलाई पनि कारबाहीको सिफारिस गर्ने, आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक सुझावहरु पेस गर्ने । कार्यादेशसहित उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा यो आयोग गठन भएको छ । यो आयोगलाई एक महिनाको कार्यादेश दिइएको छ । उहाँहरुको सुझावसहितको प्रतिवेदनपछि सरकारले आवश्यक कदम चाल्नेछ ।’

प्रवक्ता शर्माले आयोगलाई एक महिनाको कार्यादेश दिइएको आयोगको सुझावसहितको प्रतिवेदनपछि सरकारले आवश्यक कदम चाल्ने बताउनु भयो ।