
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुन नसक्ने बताउनुभएको छ ।
सुनकोशी इन्द्रावती समाजद्वारा बिहीबार बिपी कोइराला लायन्स तथा अध्ययन केन्द्र महाराजगञ्जमा आयोजित ‘सम्मान एवम् प्रमाणपत्र वितरण’ कार्यक्रममा नेता कोइरालाले विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप त्याग्नुपर्नेमा जोड दिनुभयो ।
नेता कोइरालाले नयाँ सोच लिएर अगाडि बढ्न नसके सबै विश्वविद्यालय धरापमा पर्ने अवस्था आएको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय मान्यता र गुणस्तरीय शिक्षा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले देशलाई विकास गर्दै मुलुकमा रोजगारी सिर्जना गर्नका लागि अहिलेको अवस्थामा समयसापेक्ष शिक्षा कस्तो बनाउने भन्ने कुरामा सरकारले विचार पुर्याउनुपर्ने बताउनुभयो ।
नेता कोइरालाले गत वर्षमात्र नेपालबाट विदेशमा अध्ययन गर्नका लागि एक लाख २७ हजार विद्यार्थी विभिन्न मुलुकमा गएको भन्दै तिनीहरुलाई नेपालमै बस्ने व्यवस्था मिलाउन नसकिएकामा चिन्ता व्यक्त गर्नुभयो । जिल्ला–जिल्लामा मेडिकल कलेज खोल्ने कुरा सम्भव नभएको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्