
काठमाडौं । नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा गत वर्षको तुलनामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ ।
कोभिडको कारण थला परेको सौराहाको पर्यटन पछिल्लो समय विस्तारै लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरु उत्साहित छन् ।
सन् २०२२ मा भन्दा २०२३ मा ५० प्रतिशत पर्यटक आगमन भएसँगै यति बेला सौराहाका होटलहरु वाह्य पर्यटकहरुले भरिभराउ छन् । सौराहामा घुम्न आउने वाह्य पर्यटकमा चिनियाँ र भारतीय पर्यटकको संख्या उच्च छ ।
अंग्रेजी नयाँ वर्षसँगै सौराहामा आन्तरिक र वाह्य पर्यटकमा वृद्धि भएसँगै सौराहाको पर्यटन पुरानै लयमा फर्कने आशा पलाएको व्यवसायीको भनाई छ । सौराहामा पर्यटन आगमनमा वृद्धि भएपनि व्यवसायीहरुले नयाँ गन्तव्य र वाह्य पर्यटकको बसाई थप गर्न सक्नुपर्ने बताएका छन् ।
पर्यटन व्यवसायीहरुले पर्यटकहरुको बसाई लम्ब्याउनको लागि राष्ट्रिय निकुञ्जले एक पटक काटेको टिकट एक दिनको लागि मात्रै अनुमति दिने विषयमा परिमार्जन गरी ५ देखि ७ दिनसम्मको लागि बनाउनुपर्ने माग राखेका छन् । क्षेत्रीय होटल संघका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै सौराहामा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको बताउनुभयो । उहाँले २०२३ मा सौराहामा ४० प्रतिशत आन्तरिक र बाँकी ६० प्रतिशत पर्यटक वाह्य रहेको बताउनुभयो ।
अध्यक्ष गिरीले सौराहामा एकै पटक ७ हजार पर्यटकलाई राख्न सक्ने क्षमता रहेको बताउनुभयो । उहाँले जिप सफारी,हात्ती सफारी लगायतका कार्यक्रमहरु भएपनि राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जिप सफारीको रुट हुँदा पर्यटकलाई नयाँ गन्तव्य देखाउन नसकिएको बताउनुभयो । उहाँले सरकारले निकुञ्जमा अन्य रुटहरु पनि खुला गरिदिए पर्यटकहरुको लागि राम्रो हुने उल्लेख गर्नुभयो ।
क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष दीपक भट्टराईले पछिल्लो समय सौराहाको पर्यटन लयमा आएको बताउनुभयो । उहाँले पछिल्लो समय सौराहामा आन्तरिक तथा वाह्य गरी ७५ प्रतिशत पर्यटक आगमन भएको उल्लेख गर्नुभयो । उहाँले सौराहामा गुणस्तरीय होटलहरुमा लगानी बिस्तार हुँदै गएको बताउनुभयो ।
पूर्वअध्यक्ष भट्टराईले व्यवसायीहरुले सौराहामा आउने पर्यटकको लागि पुराना गतिविधि नै दिइरहेको भन्दै नयाँ पर्यटकीय गन्तव्य र गतिविधि दिन आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय निकुञ्जको नियम कानूनसँग बसेर होटल सञ्चालन गर्नुपर्ने हुँदा जङ्गल वाक, हात्ती सफारी, जीप सफारी, बोटिङ बाहेक नयाँ कार्यक्रम दिन नसकिएको बताउनुभयो । उहाँले सरकारले राष्ट्रिय निकुञ्जको ऐनलाई नै परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले निकुञ्जको पुरानो ऐनको कारण पर्यटक व्यवसायीहरुलाई धेरै असर परेको भन्दै निकुञ्जमा सफारीको लागि अन्य रुट खोल्न आवश्यक रहेको बताउनुभयो ।
सौराहाका होटल व्यवसायी माधव दुवाडीले अहिले २०१९ लाई बिर्सने गरी सौराहामा पर्यटकहरुको आगमन भइरहेको बताउनुभयो । उहाँले पर्यटक आगमन वृद्धि भएसँगै सौराहाका होटल व्यवसाय फस्टाएको बताउनुभयो । उहाँले आन्तरिक पर्यटकहरु समूहगत रुपमा आएर सभा सम्मेलनहरु गर्ने गतिविधिहरु वृद्धि समेत भइरहेको बताउनुभयो । उहाँले राष्ट्रिय निकुञ्जलाई विगतको नीतिअनुसार उपयोग गरिरहेकाले बताउनुभयो । उहाँले विगतकै गन्तव्यका आधारमा पर्यटकहरुलाई आकर्षण गर्ने भन्दा पनि नयाँ गन्तव्यको खोजि गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सौराहा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिए पनि त्यहाँबाट पर्यटन व्यवसायीले अझै फाइदा लिन नसकिरहेको उल्लेख गर्नुभयो ।
त्यस्तै, होटल व्यवसायी बासु ढुङ्गानाले सौराहामा वृद्धि भएका पर्यटकको बसाई लम्ब्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले सौराहा आउने विदेशी पर्यटकको बसाई लम्ब्याउनसके सौराहाका होटल फस्टाउने मात्रै नभएर सौराहाको अर्थतन्त्र सुधार हुने अवस्था रहेको बताउनुभयो । उहाँले विदेशी पर्यटकको बसाई लम्ब्याउनको लागि सरकारले राष्ट्रिय निकुञ्जमा जानको लागि एक दिनको लागि मात्रै टिकट दिने व्यवस्था परिर्वतन गर्नु माग गर्नुभयो ।
होटल व्यवसायी प्रकाश न्यौपानेले सौराहा आउने पर्यटकले वन्यजन्तु र प्राकृति रमणीय होटलहरु बढी रुचाउने गरेको बताउनुभयो । उहाँले समग्र नेपालका आउने पर्यटकमध्ये ३२ प्रतिशत मात्रै पर्यटक सौराहा आउने गरेको दाबी गर्नुभयो । उहाँले वनवास रिसोर्ट सञ्चालनमा आएको दुई महिना मात्रै हुँदा पनि प्रकृतिसँगै पर्यटक रमाउन सक्ने होटल भएकाले वनवास रिसोर्ट रोजाईमा पर्ने गरेको बताउनुभयो । उहाँले बिदाको समयमा सौराहामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुले वनवास रिसोर्ट रोजाइमा पर्न थालेको बताउनुभयो । उहाँले निकुञ्जमा भएका जन्यजन्तुको संरक्षण गर्नसके मात्रै सौराहाको पर्यटन व्यवसाय माथि पुग्ने बताउनुभयो ।
सौराहामा पर्यटन आगमन सहज बनाउनको लागि सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको संख्या अझ बढ्न नसकेको व्यवसायीको गुनासो छ । त्यस्तै, व्यवसायीहरुले चितवन आउने पर्यटकको लागि हवाई यातायात पनि महँगो भएको बताए । व्यवसायीहरुले सौराहामा पर्यटन वृद्धि भएसँगै नयाँ लगानी र सम्भावनाका ढोका खुल्दै जाने अवस्था सिर्जना हुने बताए ।
प्रतिक्रिया दिनुहोस्