
काठमाडौं । बाल यौनदुराचारको आरोपमा पक्राउ गरेका रामबहादुर बम्जनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
नेपाल प्रहरीले २०७६ सालमा नै सर्लाहीमा एक नाबालिकामाथि यौनदुराचार गरेको अभियोग लागेका बम्जनलाई खोजी गर्दै आएकोमा मंगलबार बेलुका उनको काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गर्न सफल भएको थियो ।
थप अनुसन्धानको क्रममा उनको घरबाट ठूलो धनराशी बरामद गरिएको पनि सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिनुभयो । उहाँकाअनुसार बरामद गरिएका नगद राशिमध्ये १७ देशका विभिन्न मुद्राहरु रहेको र त्यसको नेपाली रकम ३० लाख ९२ हजार ४०६ हुन्छ । त्यसैगरी प्रहरीले उनको घरबाट १४ थान मोबाईल, ५ थान आईप्याड, २ वटा गाडी र ४ वटा मोटरसाईकल पनि फेला पारेको छ ।

ब्युरोले बुधबार पक्राउ परेका बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ । उनीमाथि आफ्ना चेलाहरुको हत्या गरेको आरोप पनि लगाइएको छ । त्यसैगरी बम्जनको घरबाट बरामद भएको १७ देशको विदेशी मुद्रासहितको ठूलो धनराशीबारे पनि थप अनुसन्धान गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउने सिआईबीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्