२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


तत्कालिन पर्यटनमन्त्रीको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आएन : अध्यक्ष तिमिल्सिना


663
Shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालिन पर्यटनमन्त्री र कर्मचारीहरुको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आउन नसकेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले अघिल्लो प्रतिनिधि सभाको कार्यकालमा विभागिय मन्त्री र कर्मचारीहरुको स्वार्थका कारण नेपाल हवाइसेवा प्राधिकरण विधेयक र नेपाल नागरिक उडड्यन प्राधिकरण विधेयक आउन नसकेको बताउनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको भएपनि स्वार्थवश प्रतिनिधि सभाबाट पुनः राष्ट्रिय सभामा फिर्ता नआएको बताउनुभयो । उहाँले युरोपियन युनियनले नेपालीलाई कालोसूचिमा राखेको अवस्थामा सेवा प्रदायक निकाय र नियामक निकाय एउटै हुनु नहुने प्रावधानसहित विधेयक ल्याउनुपर्ने भएपनि कर्मचारीहरुले सो कुरा स्वीकार गर्न नसकेका बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले वायु सेवा निगमका कर्मचारीहरुले पार्टीका नेताहरुको कुरा सुनेका पनि बताउनुभयो । उहाँले अझै पनि सरकारले चाहेमा सो विधेयक ल्याएर पारित गर्नसक्ने भएपनि प्रयत्न नगरिएको बताउनुभयो । उहाँले नेताहरु निहित स्वार्थमा लागेका पनि बताउनुभयो ।