
काठमाडौं । अघिल्लो वर्षको तुलनामा मुस्ताङमा यस वर्ष आलुको उत्पादन ३३ प्रतिशतले घटेको छ । डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
केन्द्रका अनुसार गत वर्ष नौ हजार ६०३ मेट्रिक टन आलु उत्पादन भएकोमा यस वर्ष छ हजार ३६३ मेट्रिक टन आलु उत्पादन भएको छ । यस वर्ष आलुको बोट हुर्कने समयमा लगातार वर्षा भएकाले वृद्धि विकास राम्रो हुन नसकेको र डढुवा रोगको प्रकोपले पनि आलुको उत्पादन घटेको केन्द्रले जनाएको छ ।
मुस्ताङमा उत्पादित आलु पोखरा, काठमाडौँ, चितवनलगायतका बजारमा जाने गरेको छ । यहाँको आलु २० प्रतिशत बीउ र १० प्रतिशत उपभोगका लागि खपत हुने र बाँकी ७० प्रतिशत निकासा हुने जनाइएको छ ।
यहाँ उत्पादित आलु प्रतिकिलो सरदर ५० रुपैयाँमा बिक्री हुने गरेको छ । गत वर्ष ४८ करोड नौ लाख मूल्यबराबरको आलु उत्पादन भएकामा यसपटक ३१ करोड ८१ लाख रुपैयाँबराबरको मात्रै भएको छ ।
प्रतिक्रिया दिनुहोस्