६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सिन्धुलीमा माघे संक्रान्ति मेला


260
Shares

सिन्धुली । माघे संक्रान्तिका अवसरमा सिन्धुलीको कमलामाईमा मेला लागेको छ । कमलामाई नगरपालिकास्थित गौमती र कमलानदीको संगमस्थलमा अवस्थित प्रसिद्ध तिर्थस्थल कमलामाई स्थानमा मेला लागेको हो ।

विशेष समारोहको आयोजना गरी कमलामाईलाई गर–गहना पहिर्‍याएर माघे संक्राती मेलाको शुभारम्भ गरिएको थियो । सिन्धुली जिल्लासहित मध्यपुर्वी क्षेत्रका श्रद्धालु भक्तजनहरुको आस्था र विश्वासको धरोहर मानिने कमलामाईलाई श्रद्धालु भक्तजनको सहभागितामा कमलामाईलाई गरगहना पहिर्‍याई मेलाको शुभारम्भ गर्ने प्रचलन रहेको छ ।

मध्यपूर्वी क्षेत्र खासगरी सिन्धुली, सर्लाही, महोतरी, धनुषा, रौतहट, बारा, पर्सा, सिराहा, उदयपुर, रामेछाप र दोलखा जिल्लाका श्रद्धालु भक्तजनहरुले कमलानदीमा स्नान गरेर पुजा आराधना गरी पाठी, बोका, परेवा, हाँस, कुखुरा, भेडाको बली दिने प्रचलन छ ।

शुद्ध भई चोखो मनले कमलामाईको भाकल र दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रही आएकाले ऐतिहासिक कमलामाईस्थानमा मेला भर्न भारतका विभिन्न स्थान र नेपालका तराईका तिर्थालुको घुइँचो लाग्ने गरेको छ ।