
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । माघ ११ गते हुने निर्वाचनमा निष्पक्षता र पारदर्शिता कायम गर्न निर्वाचन आयोगले मंगलबारदेखि आचारसंहिता लागू गरेको हो ।
निर्वाचन आयोगका अनुसार मंगलबारदेखि माघ १२ गतेसम्म आचारसंहिता लागू हुने र आचारसंहिताको दफा १ अनुसार सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ ।
आचारसंहिताको नियम अनुसार अब कुनै पनि सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइँदैन ।
यस्तै कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण वा प्रदर्शन गर्न गराउन पाइँदैन भने जुलुस, आमसभा गर्न र सामाजिक सञ्जालमा भोट माग्न, गलत–भ्रामक सूचना प्रवाह गर्न नहुने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्